घरेलु टिम कतार फिफा विश्वकप २०२२ मा समूह चरणको सुरुवाती दुई खेलमै पराजित भएको छ।
कतारलाई शुक्रबार भएको खेलमा सेनेगलले ३-१ गोलले हरायो। पराजित भएसँगै कतार समूह चरणबाटै बाहिरिने अवस्थानमा पुगेको छ।
अब आजै हुने समूह 'ए' को खेलमा नेदरल्यान्ड्सलाई इक्वेइडरले पराजित गर्न सकेन भने आयोजक कतार अन्तिम खेलअघि नै बाहिरनेछ।
शुक्रबार दोहामा खेलको ४१ मिनेटमा सेनेगलले अग्रता लियो। उसका लागि डियाले गोल गरेका थिए। ४८ मिनेटमा डिइधिओउले सेनेगलको अग्रता दोब्बर पारेका थिए।
दोस्रो हाफ सुरु भए लगत्तै दुई गोलले पछि परेको घरेलु टिम कतारले त्यसपछि लगतार दबाब बढाएको थियो। जसमा कतारले ७८ मिनेटमा गोल फर्काउन सफल भयो। कतारका लागि मुन्तारीले मोहमदको पासमा गोल गरेका थिए।
तर ८४ मिनेटमा सेनेगलका लागि डिआङले तेस्रो गोल गरेपछि कतारी समर्थक निराश बनेका थिए।
यसअघि पहिलो खेलमा कतारलाई इक्वेइडरले पराजित गरेको थियो। सेनेगल भने नेदरल्यान्ड्ससँग हारेको थियो।
आजको खेलमा जित हात पारेसँगै सेनेगलले भने अन्तिम १६ मा पुग्ने आसा जीवित बनाएको छ।