ब्राजिलले सन् १९५० को चौथौं विश्वकप आयोजना गर्दै घरेलु मैदानमै उपाधि उचाल्ने लक्ष्य लिएको थियो। उसले प्रतियोगिता भव्य बनाउन दुई लाख अट्ने रंगशालासमेत निर्माण गरेको थियो। तर फाइनलमा उरूग्वेसँग पराजित भएपछि ब्राजिलको उपाधि जित्ने सपना पूरा भएन। चार वर्षपछिको विश्वकपमा त ऊ अन्तिम आठबाटै बाहिरियो।
ब्राजिलले त्यसपछि १९५८ को विश्वकप जित्ने लक्ष्य लिएको थियो। त्यति बेला विश्वकप सुरू हुनु एक वर्षअघि १६ वर्षीय खेलाडीले ब्राजिलियन टिममा डेब्यू गर्दा टिम निकै उत्साहित थियो। सन् १९५७ जुन ७ मा अर्जेन्टिनाविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ती १६ वर्षीय खेलाडी नै पेले थिए।
पेलेले आफ्नो डेब्यू खेलमै गोल गरेर ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिएका थिए।
उक्त खेलपछि पेलेले मात्र होइन, ब्राजिलले पनि पछाडि फर्केर हेर्नुपरेन। उनले ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मात्र मच्चाएनन्, शताब्दीकै महान् फुटबलरका रूपमा आफ्नो चिनारी पनि स्थापित गरे।
पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो हो। घरमा उनलाई डिको भनेर बोलाइन्थ्यो। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टोबर २३, १९४० मा भएको थियो।
उनी पाँच वर्ष हुँदा उनको परिवार त्रेस क्रोवासोयसबाट बारूमा बसाइँ सारेको थियो। जहाँ उनले धुलौटे माटो र बालुवा रहेको घरको प्रांगणमा फुटबल खेल्थे गर्थे।
त्यहिँ धुलौटे प्रांगण उनका लागि पहिलो फुटबल मैदान बन्यो। धुलोबाट उठ्ने भनेझैँ उनी धुलौटे प्रांगणबाटै सिकेर ठूला मैदानमा फुटबल खेल्न सक्ने भएका थिए।
गरिब परिवारमा जन्मिएका कारण उनको बाल्यकाल अभावै अभावमा बित्यो। उनीसँग फुटबल किन्न लागि पैसा थिएन। परिवारसँग सीमित आय भएकाले उनले आमाका मोजामा पुराना अखबार खाँदेर बल बनाउथे।
उनी नांगो खुट्टाले मोजाको बल खेल्थे। मैदानमा खेल्न नपाए पनि उनले सडकबाटै फुटबलको कला सिकेका थिए।
ब्राजिलमा बोलिने पोर्चुगिज भाषामा नांगो खुट्टाले खेल्नेलाई 'पेलेदास' भनिन्छ। पेलेको बाल्यकाल त्यसरी नै खेलेर बितेको थियो। जसका कारण उनलाई पेले भन्न थालियो।
१३ वर्षको उमेरमा उनी फुटबलको व्यवसायीक करिअरतर्फ अघि बढेका थिए।
आफ्नो बुवाको टिम बारुमा जाँदा उनले पहिलोपटक आफूभन्दा पाका खेलाडीको जुत्ता सफा गर्ने काम पाएका थिए।
त्यहाँ प्रत्येक जोर सफा गरेबापत उनले केही रकम पाउथे। त्यो धेरै रकम त थिएन तर वास्तविक फुटबल किन्नका लागि पर्याप्त नै थियो।
१५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्तोसमा आबद्ध भएका थिए।
सान्तोष घरबाट निकै पर थियो। ट्रेनबाटै पाँच घण्टा लाग्थ्यो। सान्तोसबाटै पेलेको अविश्वसनीय यात्राको सुरुवात भयो।
१६ वर्ष उमेरमै ब्राजिलको राष्ट्रिय टोलीमा परेका पेले १७ वर्ष उमेरमा विश्वकप खेल्ने संसारकै कान्छो खेलाडी बनेका थिए।
सन् १९५८ को विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तोबाट पेले भनेर संसारभरि चिनिन थाले। विश्वकपअघि ब्राजिल र पेलेलाई कमैले चिन्थे। तर विश्वकप सकिएसँगै पेले र ब्राजिल संसारभर चर्चित बने।
पेलेले विश्वफुटबलमा देखाएको जादूकै कारण कालान्तरमा फुटबल, ब्राजिल र पेले एकअर्काका पर्याय बने।
सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बनेको थियो। यो विश्वकपमा आफ्नो अद्भूत खेल देखाउँदै पेलेले ६ गोल गरेका थिए।
उनले फ्रान्सविरूद्ध सेमिफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा पनि उनले उत्कृष्ट खेल खेल्दै स्वीडेनविरूद्ध २ गोल गरे। उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलोपटक विश्व च्याम्पियन बन्यो।
यही विश्वकपदेखि पेले विश्व फुटबलमा चर्चित बन्दै कालान्तरमा 'फुटबलका जादुगर' कहलिए।
सन् १९६२ मा चिलीमा आयोजित सातौं संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो। उनले समूह चरणमा मेक्सिकोविरूद्ध पहिलो खेलमा गोल गरे। अन्य खेलमा भने गोल गर्न सकेनन्। तर टिममा उनको प्रभाव पहिलेजस्तै थियो। फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जित्यो। १९६२ पछि कुनै पनि देशले लगातार दोस्रोपटक उपाधि जित्न सकेको छैन।
सन् १९६६ मा इंग्ल्यान्डमा भएको विश्वकपमा भने पेले र ब्राजिलियन टिमको प्रदर्शन राम्रो हुन सकेन। ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो। पेलेले भने बुल्गेरियाविरूद्ध गोल गरेका थिए।
सन् १९६६ मा बिर्सनलायक प्रदर्शन गरेको ब्राजिल १९७० लाई यादगार बनाउन चाहन्थ्यो। भयो पनि त्यस्तै। मेक्सिकोमा आयोजित विश्वकपको पहिलो खेलमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१ गोलले हराउँदै सानदार सुरूआत गर्यो। पेले उक्त खेलमा गोल गर्न सफल भएका थिए।
समूह विजेता बनेको ब्राजिल क्वार्टरफाइनलमा पेरूलाई र सेमिफाइनलमा उरूग्वेलाई पराजित गर्दै फाइनलमा पुग्यो। फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रोपटक उपाधि जित्न सफल भयो।
फाइनलमा पेलेले सुरूआती गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। उक्त विश्वकपमा पेलेले ४ गोल गरे।
सन् १९५८, १९६२ र १९७० गरी तीनपटक विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी आजसम्मकै एक मात्र खेलाडी पेले हुन्। उनी दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए।
विश्वकपमा खेलेका १४ खेलमा पेलेले १२ गोलका लागि पास दिएका थिए। एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। आजीवन सान्तोसबाट खेल्नुलाई उनको बुबाको प्रेरणा मानिन्छ।
'तिमी सधैँ ब्राजिलको बन्नु र जीवनभर तीन शब्द नभुल्नु- इमान्दारिता, धैर्य र सम्मान,’ पेलेका बुबाले भनेका थिए।
उनले ब्राजिलका लागि ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरे। उनले ब्राजिलबाट अन्तिमपटक १९७१ मा र क्लब फुटबलमा अन्तिम पटक १९७७ सम्म खेलेका थिए।
पेलेले सन् १४ वर्ष खेलेर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुरेको थियो। ब्राजिलले सन् १९९४ को विश्वकपको ट्रफी उचाल्दै २४ वर्षको खडेरी तोडेको थियो।
आफ्नो जादुमयी खेलका कारण विश्वभर प्रभाव जमाउन सफल पेलेसँग थुप्रै रमाइला किस्सा जोडिएका छन्।
सन् १९६१ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको एक खेलमा पेलेले नौ जना विपक्षी खेलाडीलाई छक्काउँदै उत्कृष्ट गोल गरेका थिए।
पेले सन् १९६३ मा तत्कालिन पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दा रोचक प्रशंक जोडिएको छ। जर्मन खेलाडी शुल्जले पेलेलाई निगरानी गरिरहेका थिए। शुल्जले कुनै चाल नै नपाइ पेलेले २० यार्ड टाढाबाट हानेको प्रहार गोलपोस्टको दिशा लियो। 'पेलेको खुट्टाबाट कति बेला बल बाहिर निस्क्यो भन्ने नै देखिनँ,' जर्मन गोलकिपर फहराइनले उक्त गोलप्रति टिप्पणी गर्दै भनेका भनाइ अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छापिएको थियो।
सन् १९७० को विश्वकपमा इंग्ल्यान्डविरूद्ध पेलेले एउटा शक्तिशाली प्रहार गरेका थिए। त्यसलाई रोक्न खोज्दा इंग्ल्यान्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात नौ ठाउँमा भाँचिएको प्रसंग अहिले पनि मानिसहरूले चर्चा गर्छन्।
पेलेले खेल्दा प्रयोग गरेका कतिपय शैली उनको मौलिक थियो। त्यतिबेलासम्म कुनै पनि खेलाडीले ती शैली प्रयोग गरेका थिएनन्। तर उनको शैली भने अहिले पनि धेरै खेलाडीले पछ्याउँदै आएका छन्। पेलेको बल छक्काउने शैली एंगोलाको मार्सल आर्टबाट प्रभावित रहेको भनाइ छ।
आत्मकथा 'माई लाइफ एन्ड द ब्युटिफुल गेम' को पहिलो संस्करणमा हस्ताक्षर गर्न पेले प्रकाशकको कार्यालय गइरहेका थिए। उनी पुग्नुअघि नै त्यहाँ हजारौं प्रशंसक जम्मा भइसकेका थिए। उनलाई हेर्न झुम्मिएका सबै जना सम्झनाका लागि पेलेको चिनो चाहान्थे। जसका कारण प्रशंसकले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लैजान भ्याए। कतिले उनको कारको पाटपुर्जासमेत लिएर गएका थिए। जसका कारण पेले त्यो दिन 'लगभग नांगै' हिँडेर घर पुगेका थिए भन्ने भनाइ छ।
लोकप्रियताकै कारण बेलायतकी महारानी एलिजाबेथले पेलेलाई भेट्ने क्रममा आफ्नो मर्यादाक्रम समेत भुलेकी थिइन्। इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टाभन्दा बढी कुरेको प्रशंग अहिले पनि चर्चा हुने गर्छ।
फुटबलमा दिएको योगदानका कारण पेलेलाई अन्तर्राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले पनि आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदूत नियुक्त गरेको थियो भने ब्राजिल सरकारले राष्ट्रिय सम्पत्ति घोषणा गर्यो।
पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई शताब्दी-खेलाडी उपाधि दिएको थियो।
'मानिस भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन,' पेलेले एकपटक आफ्नैबारे भनेका थिए, 'मलाई सर्वत्र स्वीकार गरिएको छ।'
सर्वत्र पाएको लोकप्रियताका कारण पेले विश्व फुटबलका सर्वस्वीकार्य आदर्श हुन्। त्यसैले उनलाई फुटबलको मिथक मानिन्छ र भनिन्छ– महान् पेले।
(विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा)