राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई मंगलबार गर्ने भनिएको एनओसीको साधारण सभा नगर्न पत्रचार गरेको छ।
यसअघि उच्च अदालत पाटनमा नेपाल रग्बी संघ समेतले उत्प्रेषण/परमादेश समेतको रिट दायर गरेकोमा उच्च अदालत पाटनले आज अन्तरिम आदेश दिएको थियो।
ओलम्पिक कमिटीले मंसिर १८ गते विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिदा विधान संशोधन नगर्नु/नगराउनु, भनी विपक्षी नेपाल ओलम्पिक कमिटीको नाममा अन्तरिम आदेश जारी भएको हुँदा आदेशको जानकारी विपक्षी नेपाल ओलम्पिक कमिटीलाई गराउनु भन्ने आदेश भएको थियो ।
पत्रसंगै उच्च अदालत पाटनबाट भएको आदेशको प्रतिलिपी समेत संलग्न गरी एनओसीमा पठाइएको छ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफू तेस्रो कार्यकाल अध्यक्ष बन्ने गरी विधान संशोधन गराउन विशेष साधारण सभा गर्न लागेपछि विरोध गर्दै रग्बी सङ्घ समेतले मुद्दा दायर गरेका थिए।
खेलकुद ऐनमा कुनै पनि सङ्घमा लगातार दुई कार्यकाल अध्यक्ष बन्न पाउने उल्लेख छ।