अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन्।
यसअघि सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका खेलाडीहरू अब सडमा उत्रने भएका छन्।
नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिने भएका हुन्।
खेलाडी संघको भनाइ छ, 'हामी नेपाल फुटबल खेलाडी संघले पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्न नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग चरणवद्ध रुपमा विभिन्न स्तरमा प्रयास गर्दै आएका थियौं। तर हाम्रो शालीनतालाई बेवास्ता गरेर एन्फाले पुन: एकपटक लिग स्थगन गर्ने निर्णय गरेपछि हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौं। खेलाडी भएपछि हामीले सधैं मैदानमा नै व्यस्त हुनुपर्छ भन्ने मान्यता राख्छौं, तर पटक पटकको हाम्रो प्रयासलाई बेवास्ता गरिएपछि हामीसँग सडकमा आउनुको विकल्प नरहेको महसुस गरेका छौं।यसै अनुसार हामी नेपाल फुटबल खेलाडी संघले कार्तिक २० गते विहान ११ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना कार्यक्रम आयोजना गर्दैछौं।'
यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए।
यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौडामा सुरु एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो।
राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। बाँकी ८ ए डिभिजन क्लबको भने प्रतिनिधित्व हुनेछैन।
राष्ट्रिय लिगमा रेलिगेसन व्यवस्था नहुने भएको हुँदा पनि लिगको रौनकतामा कमि आउने भन्दै कतिपयले विरोध गरेका छन्।