अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ।
पुस ६ देखि गर्ने भनेको लिगका लागि क्लबहरूले समय मागेपछि यो वर्ष होम एन्ड अवे लिग नहुने एन्फा महासचिव किरण राईले मंगलबार बताए।
‘एएफसी क्लब लाइसेन्सको मापदण्डअनुसार लिग खेल्न क्लबहरू तयार हुनुहुन्छ। तर उहाँहरूले कम्तिमा दश महिनाको समय माग गर्नु भएको छ। क्लबहरूको मागमा हामी सकारात्मक छौं। त्यसैले यो वर्ष होम एन्ड अवे प्रणालीमा लिग हुँदैन,’ महासचिव राईले पत्रकारले मंगलबार भने, ‘दश महिनापछि हुने लिगको तयारी अहिले थाल्छौं। तर यो बीचमा नेपालको शीर्ष लिग भने हामी गर्छौं।’
महासचिव राईले शीर्ष लिग भनेर स्पष्ट खुलाउन नसके पनि ए डिभिजन लिगको अघिल्लो संस्करण शीर्ष ६ क्लब र प्रदेश स्तरको प्रेसिडेन्ट लिग खेलेका ४ क्लब गरी १० क्लबबीच राष्ट्रिय लिग गराउने संकेत गरे।
तर उनले राष्ट्रिय लिग गराउने भनेर किटान गर्न भने सकेनन्। पटक-पटक शीर्ष डिभिजनको लिग गराउने भनेर बताएका उनले ए डिभिजन क्लबले खेल्न चाहेमा एकै स्थानमा ए डिभिजन लिग गराउने भनेर भन्न पनि भ्याए।
२०७२ सालदेखि एन्फाले राष्ट्रिय लिग गरेको छैन। एन्फाका सिइओ इन्द्रमान तुलाधरले पनि राष्ट्रिय लिग गराउन एन्फाले विधानले दिने बताए।
होम एन्ड अवे लिगको विषयमा एन्फा र क्लबहरू एक मत हुन नसक्दा अबको परिस्थित राष्ट्रिय लिगतर्फ मोडिएको हो।
यसअघि आइतबारका लागि तय बैठक एन्फाले क्लबहरूबाट सुझाव प्राप्त भएको भन्दै स्थगित गरेको थियो।
ए डिभिजन क्लबहरूबाट प्राप्त भएको सुझावहरूका सम्बन्धमा आवश्यक तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको एन्फाको भनाइ थियो।
एन्फाले अब क्लबहरूसँग छठपछि बैठक बसेर निर्णय लिने बताएको छ। ‘अब हामी क्लबहरूसँग छठ पर्वपछि बैठक बस्छौं। त्यसपछि कस्तो खालको लिग गराउने भनेर निर्णय गर्छौं,’ महासचिव राईले भने।
यसअघि एन्फाले १४ ए डिभिजन क्लबलाई असोज ५ गते पत्र पठाउँदै सहिद स्मारक ए डिभिजन लिगको महत्वपूर्ण विषयमा छलफल गर्नका लागि आगामी असोज २६ गते बैठक बोलाएको थियो।
तर ए डिभिजन क्लबहरूले शनिबार पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन लिगको पर्याप्त तयारी र क्लबसँगको समन्वय बिना होम एन्ड अवे लिग गराउन लागेको भन्दै विरोध गरेका थिए। साथै उनीहरुले एन्फासमक्ष विभिन्न माग समेत राखेका थिए।
एन्फाले यसअघि पनि लिगका लागि क्लबहरूसँग छलफल गरेको थियो। भदौ ३० का लागि बोलाइएको बैठक पनि औपचारिक रूपमा सञ्चालन हुन सकेको थिएन। जेनजी आन्दोलनका कारण एन्फाका विभिन्न कार्यक्रम स्थगित हुँदा बैठक पनि प्रभावित बनेको थियो।
यसअघि एन्फाले २०८२ पुस ९ गतेदेखि सुरु गर्ने प्रस्ताव राख्दै यसलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना सुनाएको थियो।
पछिल्लो पटक २०७९/२०८० को लिग २०८० को जेठ २३ सकिएको थियो। चर्च ब्वाइजलाई च्याम्पियन बनेको साढे दुई वर्षपछि एन्फाले अर्को लिग गर्न लागे पनि अझै अन्योल बढेको छ।
पछिल्लो लिग सकिएको तीन वर्षपछि अर्को लिग गर्न लागेको एन्फामाथि समयमै लिग गर्न नसकेको भन्दै चर्को आलोचना हुने गरेको छ।