नेपाल फुटबल खेलाडी संघले बिभिन्न कारण देखाइ ए डिभिजन लिगको कार्यक्रमहरु परिवर्तन वा रोकिएको खण्डमा उत्पन्न हुने सम्पूर्ण अवस्थाको जिम्मेवारी आखिल नेपाल फुटबल संघ (एन्फा) ले लिनु पर्ने बताएको छ।
एन्फाले आगामी पुस दोस्रो सातादेखि गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिगको अन्योलमा परेपछि मंगलबार विज्ञप्ति निकाल्दै खेलाडी संघका अध्यक्ष विक्रम लामाले यस्तो चेतावनी दिएका हुन्।
‘लामो समयको प्रतिक्षापछि ए डिभिजन लिगसँगै घरेलु फुटबल सुचारु हुन्छ भन्ने अपेक्षा नेपाल फुटबल खेलाडी संघले राखेको छ। यदि फेरि पनि विभिन्न कारण देखाइ प्रतियोगिताका कार्यक्रमहरू परिवर्तन वा रोकिएको खण्डमा उत्पन्न हुने सम्पूर्ण अवस्थाको जिम्मेवारी आखिल नेपाल फुटबल संघले लिनु पर्नेछ,’ संघको चेतवानी छ।
नेपाली फुटबलको अहिलेको अवस्था र नेतृत्वका कारण फुटबल माथि समर्थकहरुको विश्वास विस्तारै टुट्न थालेको संघको भनाइ छ।
‘पछिल्लो कार्यसमितिको अवधि अब एक वर्ष पनि छैन। यो कार्यकालमा एक पटक मात्र ए, बी, सी डिभिजन लिग हुनु खेलाडी र समर्थक माथि अन्याय हो। त्यसअर्थ अहिले नेतृत्वले फुटबल माथि अन्याय गरेको छ। नेपाल फुटबल खेलाडी संघ एन्फाको काम गर्ने तौर तरिकामा सहमत हुन सक्दैन,’ संघको भनाइ छ।
साथै घरेलु फुटबलको मेरुदण्ड मानिने लिग गर्न नसक्नेहरुले नेतृत्वमा बसिरहनु नैतिकताले नमिल्ने पनि संघको भनाइ छ।
लिग नभएपछिको अवधिमा १ सय भन्दा बढी व्यवसायिक फुटबल खेलाडी रोजगारीको लागि बाहिरिएको र घरेलु फुटबलको पछिल्लो ३ वर्षमा परिचित अधिकांश खेलाडी देश बाहिर रहेको नमिठो यथार्थ रहेको पनि संघको भनाइ छ।
रोजगारीका लागि जान बाध्य हुनुको मुख्य कारण घरेलु फुटबल चलायमान बनाउन एन्फा नेतृत्वले दिलाउन नसकेको विश्वास नै मुख्य कारण भएको संघको विज्ञप्तिमा उल्लेख छ।
‘पछिल्लो भदौको २३ र २४ गतेको जेन्जी प्रर्दशनले नेपालको पार्टी राजनीतिको नक्सा बदलिएको छ। फुटबलमा पनि परिवर्तन आवश्यक छ भन्दै समर्थकको एक समूहले एन्फा गेट अगाडि गरेको प्रर्दशनले एन्फा नेतृत्व डराएर एक कदम पछि हटेको देखिन्छ। अन्यथा ए डिभिजन क्लबसँगको बैठक रोक्नुको चित्त बुझ्दो जवाफ एन्फाले दिएको छैन। हिजो खेलाडी संघले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको भए नेपाली फुटबलमा असन्तुष्ठि सहितको समर्थकहरुको प्रदर्शनको अवस्था सायद आउने थिएन। अन्य खेलकुद संघले समर्थकबाट प्राप्त गरेको समर्थनबाट पनि सिक्न नसक्नु दुःखद हो,’ संघले भनेको छ।
अहिले नेतृत्व परिस्थितिप्रति गम्भीर हुने हो भने आउने ए डिभिजन लिग कम्तिमा ६ महिना कार्यान्वयन गर्न सक्ने किसिमको योजना लिएर अघि बढ्न पर्ने पनि संघले सुझाव दिएको छ।
