अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच आगामी शनिबार र मंगलबार अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ।
एन्फाले दुई खेलको शृङ्खला बताएको यी खेलहरू फिफा इन्टरनेशनल विन्डोअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेका हुन्।
साँझ ५:३० बजेदेखि सुरु हुने यी दुई खेलका लागि पूर्ण रूपमा तयार भएको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन्।
नेपाली टोलीका प्रशिक्षक म्याट रसले आफ्नो नेतृत्वमा चार खेल खेलको बताउँदै तीन वटा खेलको नतिजा राम्रो भएको बताए।
रसको नेतृत्वमा नेपालले सिंगापुरलाई पराजित गर्दा हङकङसँग बराबरी खेलेको थियो। मलेसियासँग हारेको नेपालले लाओससँग भने अपेक्षित रुपमा पराजय भोग्न परेको थियो।
प्रशिक्षक रसले शनिबार र मंगलबार दशरथ रंगशालामा हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे। ‘एएफसी एसियन कप छनोटअघि बंगलादेशविरूद्धको खेल टफ र फिजिकल हुने विश्वास गरेको छु’ उनले शनिबारको खेलअघि भने।
साथै उनले बंगलादेश राम्रो ठूलो भएको उल्लेख गर्दै नेपाली टोलीबाट उत्कृष्ट खेलको अपेक्षा गरेका छन्।
नेपालविरूद्ध खेल्नका लागि बंलादेशका स्टार फिडफिल्डर हम्जा चौधरी भने नआउने भएका छन्। इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीमा आबद्ध चौधरीबिना बंगलादेशले खेल्दा नेपाललाई सहज हुने हो भन्ने प्रश्नमा रसले भने, ‘बंगलादेश बलियो टोली हो। हामी ब्यक्तिगत खेलाडीमा केन्द्रीत छैनौ। उनी हुनु र नहुने कुराले ठूलो महत्व राख्छ जस्तो लाग्दैन। हामीले बंगलादेशविरूद्ध कस्तो खेल्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ।’
कप्तान किरण चेम्जोङले पनि नेपाली टोली तयार भएको बताए। साथै दुई वर्षपछि दशरथ रंगशालामा खेल्न पाउँदा खुसी लागेको बताए। उनले पनि हम्जा चौधरीभन्दा पनि बंगलादेशको समग्र टोलीलाई ध्यान दिनु पर्ने बताए। ‘अवश्य पनि हम्जा चौधरीले नेपालमा खेलेको धेरैले हेर्न चाहानुहुन्छ। तर पनि हामीले बंगलादेश टोलीको खेललाई ध्यान दिनुपर्छ।’
व्यस्त खेल तालिका र मैत्रीपूर्ण खेलमा ‘रिक्स’ लिन नचाहेकाले चौधरी नेपाल नआएको बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले बताए। साथै उनले नेपाल बलियो टोली भएको र मैत्रीपूर्ण खेलले एसिया कप छनोटको तयारीमा फाइदा पुग्ने बताए।
यो सिजनको बंगलादेश प्रिमियर लिगमा कप्तान किरणसहित नौ खेलाडी आबद्ध छन्। जसका कारण बंगलादेशका खेलाडीबारे बुझ्न नेपाली खेलाडीलाई सजिलो हुने कतिपयको बुझाइ छ। त्यसो त किरण आबद्ध पुलिस फोर्स र बंगलादेश टोलीबीच मैत्रीपूर्ण खेल समेत भएको थियो। सो खेलमा धेरै बंगलादेशका खेलाडी भने नभएको किरणको भनाइ छ।
नेपाल र बंगलादेशबीचको खेलका लागि यो पटक एन्फाले १० हजार टिकट बिक्री गर्दैछ। साधारणतर्फ ९ हजार (पाँच सय रूपैयाँको टिकट) र भिआइपीतर्फ १ हजार (एक हजार रूपैयाँको टिकट) टिकट बिक्री गर्ने एन्फाको भनाइ छ। टिकटहरू खल्ती एपबाट खरिद गर्न सकिनेछ।
खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ। दुई म्याचको शृङ्खलाको समग्र नतिजा बराबरीमा भएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउट गरी विजेता घोषित गरिने एन्फाको भनाइ छ।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका भए पनि सो खेल मैदानका कारण नहुने भएको छ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), दीप कार्की, टिकेन्द्र थापा, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन बिष्ट, अरिक बिष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनीष डाँगी, रन्दीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुभाष ठकुरी बम, सुमन श्रेष्ठ, योगेश गुरुङ
मुख्य प्रशिक्षक: म्याट रस