अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को छनोटअन्तर्गत भेनेजुएलाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन्।
अर्जेन्टिनाले ३-० को जित निकालेको खेलमा मेसीले दुई गोल गर्दै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको विश्वकप छनोटमा दोस्रो सर्वाधिक गोल गर्ने रेकर्ड बराबरी गरेका छन्।
यो जित अर्जेन्टिनाका लागि मात्र नभई मेसीका लागि पनि विशेष रह्यो। किनभने यो खेल मेसीका लागि अर्जेन्टिनाको घरेलु मैदानमा उनको अन्तिम औपचारिक खेल हुन सक्ने अनुमान गरिएको छ।
अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो। जहाँ मेसीले (३९औँ र ८०औँ मिनेट) र लाउटारो मार्टिनेज (७६औँ मिनेट) ले गोल गरे।
यस दुई गोलसँगै मेसीले इरानका अली दाइलाई पछि पार्दै विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा उक्लिएका छन्।
उनले क्रिस्टियानो रोनाल्डोको ३६ गोलको कीर्तिमान बराबरी गरे। अब मेसी केवल कार्लोस रुइज (३९ गोल) भन्दा तीन गोलले मात्र पछि छन्।
खेलपछि मेसीले भावुक प्रतिक्रिया दिएका छन्। उनले भने, ‘यहाँ मेरा आफ्नै मानिससँग यसरी समाप्त गर्ने कुरा मैले सधैं सपना देखेको थिएँ। धेरै वर्षसम्म मैले बार्सिलोनामा धेरै माया पाएँ। मेरो सपना मेरो देशमा, मेरा मान्छेहरूसँग त्यो पाउनु थियो। हामीले गरेका सबै राम्रा कुराहरू जुन समूहले प्रयास भयो। हामीले अनुभव गरेका सबै कुरा सुन्दर थिए।’
सन् २०२६ को विश्वकपपछि मेसीले संन्यास लिने अनुमान गरिएको छ। यस्तो अवस्थामा भेनेजुएलाविरुद्धको यो खेल अर्जेन्टिनामा उनका सर्थकहरूका लागि एक अविस्मरणीय विदाईको अवसर भएको विश्वास गरिएको छ।