एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट नेपालको महिला लिग च्यम्पियन एपिएफ क्लब बाहिरिएको छ।
बिहीबार उज्वेकिस्तानमा भएको समूह ‘बी’ खेलमा थाइ क्लब कलेज अफ एसियन स्कलर्ससँग ४-० गोल अन्तरले पराजित भएसँगै एपिएफ एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको हो ।
थाइल्यान्डको टोली कलेज अफ एसियन स्कलर्सका लागि कयानट चेथाबुट्राले चारै गोल गरिन् । उनले खेलको ३४औं मिनेटमा पहिलो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा उनले दोस्रो गोल गरिन् । खेलको ५४औं मिनेटमा ह्याट्रिक पूरा गरेकी उनले ६३औं मिनेटमा चौथो गोल गर्दै टोलीलाई फराकिलो जित दिलाइन्।
प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेसँगै एपीएफ बाहिरिएको हो । यसअघि एपिएफ उज्वेकिस्तानको नासाफसँग ३-० गोलले हराएको थियो। साउदी अरेबियाको अल नासर क्लबसँग १-० ले पराजित भएको थियो ।
समूह ‘बी’ मा रहेको एपिएफले अब आफ्नो अन्तिम खेल आइतबार साउदी अरेबियाको अल नासर क्लबसँग खेल्नेछ ।
यस जितसँगै कलेज अफ एसियन स्कलर्सले समूह चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। अब उसले आइतबार उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्नेछ।
एएफसी महिला च्याम्पियन्स लिगको यो दोस्रो संस्करण हो। प्रारम्भिक चरणमा अहिलेसम्मकै सर्वाधिक १९ टोलीले ५ समूहमा प्रतिस्पर्धा गर्दैछन्। हरेक समूहका विजेता र सबै समूहमध्येबाट उत्कृष्ट उपविजेता गरी कुल ६ टोली अर्को चरणमा प्रवेश गर्नेछन्।
अब अन्तिम खेलमा जित निकाले पनि नेपालको एपिएफ दोस्रो हुनेछ। तर अन्य समूहका रहेका दोस्रो टोलीको बढी अंक हुने पक्का भएसँगै एपिएफको उत्कृष्ट दोस्रो टोली हुने सम्भावना पनि सकिएको छ।
यी ६ टोलीले एसियाका शीर्ष वरीयताका ६ क्लबहरू— मेलबर्न सिटी एफसी (अष्ट्रेलिया), सुवन एफसी वुमेन्स (दक्षिण कोरिया), टोकियो भर्डी बेलेजा (जापान), वुहान जियाङ्दा वुमेन्स एफसी (चीन), हो चि मिन सिटी वुमेन्स एफसी (भियतनाम) र बाम खातुन एफसी (इरान सँगै नोभेम्बरमा सुरु हुने १२ टोलीको समूह चरणमा खेल्नेछन्।
यस पटकको प्रतियोगितामा कम्बोडिया, उत्तर कोरिया, गुआम, किर्गिज गणतन्त्र र मंगोलिया गरी पाँच देशका क्लबहरूले पहिलो पटक महादेशीय प्रतियोगितामा सहभागिता जनाउँदैछन्।