अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनिएको ए डिभिजन क्लबहरू सहभागी लिग कम नकआउट प्रतियोगिता नहुने भएको छ।
एन्फा प्रवक्ता सुरेश शाहले चार क्लबले मात्र नाम दर्ता गराएका कारण प्रतियोगिता नहुने बताएका हुन्। वैशाख १० सम्म दर्ता गर्न दिइएको समयसीमामा तीन विभागीय र संकटा क्लबले मात्र नाम दर्ता गराएका थिए।
बाँकी क्लबले नाम दर्ता गर्न अस्विकार गरेका हुन्। यसअघि नौ क्लबले भेला आयोजना गर्दै प्रतियोगिता नखेल्ने विषयमा छलफल गरेका थिए। तयारीका लागि समय पर्याप्त नभएकाले एन्फाले आयोजना गर्ने प्रतियोगिता नखेल्ने उनीहरूको निर्णय थियो।
यसअघि एन्फा र ए डिभिजनका १४ क्लबहरूबीच एएफसी क्लब प्रतियोगिता २०२५/२६ सिजनको बारेमा छलफल भएको थियो। जहाँ वैशाख २० गतेबाट सो फुटबल प्रतियोगिता आयोजना गर्ने र सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/२६ मा भाग लिन पाउने प्रस्ताव गरिएको थियो।
यो सिजन सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेको एन्फाले लिग कम नकआउट प्रतियोगिता गर्न लागेको थियो। अघिल्लो सिजन लिग विजेता टोली चर्च ब्वाइजले एएफसी क्लब प्रतियोगितामा भाग लिएको थियो।
अब यो प्रतियोगिता पनि हुन नसकेपछि एफसी क्लब कम्पिटिसन २०२५/२६ मा नेपालको कुनै क्लबको प्रतिनिधित्व नहुने एन्फा प्रवक्ता शाहले बताए।
अघिल्लो सिजन खेलेकै क्लबले यो सिजन खेल्न नमिल्ने र एन्फाले छनोटका लागि प्रतियोगिता आयोजना गर्न खोज्दा क्लबहरुले भाग लिन अस्विकार गरेपछि एफसी क्लब प्रतियोगिताको सिजन २०२५/२६ मा नेपालको प्रतिनिधित्वन नहुने भएको हो।
सिजन २०२५/२६ मा नेपालको तर्फबाट एक क्लबलाई एएफसी च्यालेन्ज लिगको प्लेअफको एउटा कोटा छ। अब सो कोटामा नेपालको कुनै पनि क्लबले भाग लिनेछैनन्।
एएफसी च्यालेन्ज लिग एसियन फुटबल महासंघको तेस्रो श्रेणीको क्लब प्रतियोगिता हो।