ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्न बुधबार दशरथ रंगशाला पुगेका छन्।
एनएसएलको निमन्त्रणमा मंगलबार नेपाल आएका उनी प्रतियोगिताको दोस्रो क्वालिफायरअन्तर्गत पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका हुन्।
उनले खेलअघि दुवै टोलीका खेलाडी र म्याच रेफ्रीसँग हात मिलाएका थिए। त्यसपछि उनले खेल सञ्चालनका लागि रेफ्री प्रज्वल क्षेत्रीलाई बल हस्तान्तरण गरेका थिए।
५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए।
कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन्। ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए।






