ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस यसअघि घोषणा गरिएको मितिमा नेपाल नआउने भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार काठमाडौं आउने भनिए पनि आयोजक एनएसएलले कार्लोस शुक्रबार काठमाडौं आउन नसक्ने भन्दै माफी मागेको छ।
उनी स्वास्थ्यको कारण शुक्रबार नेपाल आउन नसक्ने भएको एनएसएलको भनाइ छ। शुक्रबार नेपाल आएपछि उनी शनिबार दशरथ रंगशालामा हुने एनएसलएको खेलका लागि आउने बताइएको थियो।
साथै एनएसएलले फाइनल फाइनलअघि कार्लोस नेपाल आइपुग्ने समेत विश्वास व्यक्त गरेको छ।
उनी आउने भनेपछि दशरथ रंगशालामा प्रवेश गर्न टिकट खरिद गरिसकेका फ्यानले आफ्नो टिकट रद्द गर्न चाहे पैसा फिर्ता दिने एनएसएलको भनाइ छ। यदि उक्त टिकट रद्द नगरे सोहि टिकटले कार्लोस नेपाल आएको दिन मान्य हुने एनएसएलले अर्को विकल्प दिएको छ।
कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए। त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए।
५१ वर्षीय कार्लोसले ब्राजिलका लागि सन् १९९२ देखि २००६ सम्म १२५ खेलमा ११ गोल गरेका थिए।
उनी लेफ्टब्याकमा विश्वमा कहलिएका खेलाडी थिए। उनले प्रहार गरेको फ्रिकिक बलले घुमाउरो रूप लिँदै विपक्षी टिमको पोष्टको जाली चुमेको दृश्य फुटबलप्रेमीहरूले बिर्सन सक्दैनन्। स्पेनिस क्लब रियाल मड्रिडबाट लामो समय क्लब फुटबल खेलेका उनी ब्राजिलले २००२ को विश्वकप जित्दाका महत्वपूर्ण टिम सदस्य थिए।