अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिव किरण राईविरूद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।
शनिबार एक टेलिभिजन अन्तरवार्तामा बोलेको विषयमा उनले उजुरी दिएका हुन्।
अन्तरवार्ताका क्रममा राईले पूर्वअध्यक्ष थापाले एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको बताएका थिए।
‘महासचिव किरण राईले अन्तरवार्तामा भन्नुभएको ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानविन गरि आफू दोषी भए कानुनअनुसार कार्वाही भोग्न तयार रहेको प्रतिबद्धता दोहोर्याउन चाहन्छु । यदी उहाँले लगाएका आरोप प्रमाणित नभए कानुनअनुसार उहाँ कार्वाहीको दायरामा आउनुपर्छ भन्ने मेरो माग रहेको पनि निवेदन गर्न चाहन्छु,’ थापाको भनाइ छ।
थापा अहिले भने फिफाको प्रतिबन्धमा छन्। २०७२ सालमा फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो।
भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गर्दै फिफाले प्रतिबन्ध गरेको थियो।