नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यावसायिक फुटबल खेल्न ग्रिस फर्किएकी छिन्।
सुब्बा शुक्रबार ग्रिस प्रस्थान गरेकी हुन्। एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला लिग खेल्ने क्लब निस अट्रोमिटौमा आबद्ध छिन्।
यसअघि फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल व्यावसायिक फुटबल खेल्न फर्किएका थिए। दुवै खेलाडी बिहीबार फर्किएको थिए।
युरोपमा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा, युएईमा खेलिरहेकी रेखा र ग्रिसको क्लबमा आबद्ध एन्जिला घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेश आएका थिए।
बुधबार सकिएको च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। उपाधि भिडन्तमा नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको थियो। पराजित भएसँगै नेपालले १३ फाइनल खेलेर पनि उपाधि जित्न सफल भएन।
साम्बा फ्रान्सको शीर्ष डिभिजनको महिला लिग खेल्ने क्लब एन अभान्ट ग्वेंगाम्पमा आबद्ध छिन्। साम्बा युरोपको शीर्ष डिभिजनको लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
रेखा युएईको अबुधावी कन्ट्री क्लबमा आबद्ध छिन्। त्यहाँको घरेलु लिगसहित रेखाले एएफसी वुमन्स च्याम्पियन्स लिगको छनोट समेत खेलिकी थिइन्। उनले छनोटमा गोल गर्दै एएफसी वुमन्स च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।