टर्कीको इस्तानबुल डर्बीअन्तर्गत सोमबार गालाटासारेसँगको खेलपछि गरिएको टिप्पणीका लागि फेनरबाचेका प्रशिक्षक जोसे माउरिन्होलाई चार खेलको प्रतिबन्ध लगाइएको छ भने ३५ हजार पाउन्ड जरिवाना गरिएको छ।
इस्तानबुल डर्बीपछि गालाटासारेले माउरिन्होले जातीय अभिव्यक्ति दिएको आरोप लगाएको थियो।
मंगलबार फेनरबाचेले एक विज्ञप्ति जारी गर्दै उनको टिप्पणीलाई ‘पूर्ण रूपमा सन्दर्भ बाहिर’ लगिएको बताएको थियो।
सो खेल गोलरहित बराबरीमा साकिएको थियो। सो खेलको रेफ्री स्लोभेनियाका स्भाभ्को भिन्सिक थिए। खेलको फोर्थ अफिसियल भने टर्कीस थिए। माउरिन्होले खेलपछिको पत्रकार सम्मेलनमा टर्की रेफ्रीहरूको आलोचना दोहोर्याएका थिए।
६२ वर्षीय पोर्चुगिज प्रशिक्षकले सोमबारको खेलपछि रेफ्रीको ड्रेसिङ रुममा गएर फोर्थ अफिसिललाई ‘यदि तपाईं खेलको रेफ्री हुनुभएको भए खेल अन्त्यन्त नराम्रो हुने थियो’ भनेका थिए।
बिहीबार टर्की फुटबल महासंघले दुई छुट्टाछुट्टै अनुशासनहिन क्रियाकलापका लागि माउरिन्होलाई कारबाही गर्ने पुष्टि गरेको हो।
महासंघले माउरिन्होले आपमानजनक र आपत्तिजनक टिप्पणी गरको भन्दै कारबाही गर्ने बताएको छ। साथै उनलाई टर्की फुटबल समुदाय र टर्किस रेफ्रीप्रति अपमानजनक तथा आपत्तिजनक टिप्पणीसहित टर्की फुटबललाई अराजकता र अव्यवस्थामा पुर्याइएको आरोप समेत लगाइएको छ।
यो अभियोगसहित इंग्लिस क्लबहरू चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनह्यामका पूर्वप्रशिक्षकलाई प्रतिबन्ध र जरिवाना गरिएको हो।
उनले रेफ्रीमाथि गरेको अर्को टिप्पणीलाई पनि कारवाहीको दायारमा ल्याइएको छ। उनले भनेका थिए, ‘पहिलो मिनेटमा डाइभ गरेपछि उनीहरुको बेन्चमा रहेका खेलाडी बाँदर झैँ अफ्रिन्छन् र एक मिनेटपछि टर्कीस रेफ्रीले पहेँलो कार्ड दिन्छन्। पाँच मिनेछपछि मैले उसलाई सब्सिच्युट गर्नु पर्छ।’