नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपछि माफी मागेकी छिन्।
एन्जिलाले बुधबार दशरथ रंगशालामा म्यानमारविरूद्धको फाइनलमा चुकेको भन्दै सबै समर्थकसँग माफी मागेकी हुन्।
एन्जिला व्यवसायिक लिग खेल्न शुक्रबार ग्रिस प्रस्थान गर्नेछिन्। एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला लिग खेल्ने क्लब निस अट्रोमिटौमा आबद्ध छिन्। ग्रिसमा लिग खेलिरहेकी एन्जिला च्याम्पियनसिप खेल्न दुई साताअघि स्वदेश फर्किएकी थिइन्।
नेपालले म्यानमारविरूद्ध भएको खेलमा २-० गोलको हार ब्यहोरेको थियो। यससँगै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताको १३औं फाइनल खेलेर पनि उपाधि जित्न सफल भएन।
‘फेरि पनि हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा म सबै समर्थकसँग माफी माग्न चाहन्छु,’ एन्जिलाले फेसबुकमा लेखेकी छन्, ‘मैदानमा उपस्थित १६ हजार दर्शक र सधैं हामीलाई माया गर्ने करोडौं समर्थक, हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं।’
फिफा वरीयतामा नेपालभन्दा म्यानमार बलियो टोली हो। म्यानमार नेपालभन्दा ४८ स्थान माथि छ। एन्जिलाले बलियो म्यानमारविरूद्ध पहिलो हाफमा राम्रो खेले पनि दोस्रो हाफमा आफूले गल्ती गरेको स्विकार गरेकी छन्।
‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ,’ उनले अघि लेखेकी छन्, ‘त्यसैले आलोचनाभन्दा बढी हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ।’
उनले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको स्मरण गर्दै समर्थकबाट साथको आशा गरेकी छन्।
‘पछिल्लो वर्षमा हामीले तीन वटा फाइनल खेलेका छौं। यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं। हामीलाई मात्र तपाईंहरूको माया, साथ, र समर्थनको खाँचो छ,’ उनको भनाइ छ, ‘यो प्रतियोगिता आयोजना गरी हामीलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धेरै धेरै धन्यवाद।’
उनले सक्दो मिहिनेत गरेको बताउँदै खेलाडीको आलोचना गर्न पनि भनेकी छिन्। ‘कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं। नतिजा जस्तो भए पनि तपाईंहरूको समर्पण प्रशंसनीय छ! निरन्तर अगाडि बढ्नुहोस्,’ उनको भनाइ छ।