नेपाल सुपर लिग फ्रेञ्चाइज फुटबल प्रतियोगिताको शनिबार हुने मिनी-अक्सनमा ६० खेलाडी हुने भएका छ।
नेपाल सुपर लिगका अनुसार ए श्रेणीका १५ र बी श्रेणीका ४५ खेलाडी अक्सनमा सहभागी हुने भएका हुन्।
चार घन्टा चल्ने अक्सनअघि सुपर लिग सहभागी सबै फ्रेन्चाइज टोलीलाई रिटेन र रिलिज भएका खेलाडीका सूची उपलब्ध गराएको छ।
यो सिजनका लागि अघिल्लो सिजन खेलेका खेलाडीमध्येबाट ए श्रेणीबाट एक र बी श्रेणीबाट दुई खेलाडी रिटेन गर्न सकिने प्रावधान लागू गरिएको थियो।
रिटेन नभएका ए र बी श्रेणीका खेलाडी अक्सनमा उपलब्ध हुनेछन्।
अक्सनमा झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोली खेलाडीलाई बोली लगाउनेछन्।
यो सिजन स्पोर्टिङ डी इलाम र बीरगन्ज युनाइटेड बाहिरिएका छन्। अघिल्लो सिजन विराटनगरले पनि हात झिकेको थियो।
यो सिजनको सुपर लिग चैत १६ देखि सुरू हुँदैछ।
प्रत्येक टोलीको २२ देखि २३ खेलाडी टोलीमा राख्न पाउनेछन्।
• १ मार्की खेलाडी
• २-३ जना ए श्रेणीका खेलाडी (१ जना रिटेन्सन सहित)
• ६ जना बी श्रेणीका खेलाडी
• ४ जना सी श्रेणीका खेलाडी
• १ जना डी श्रेणीका खेलाडी
• १ जना नयाँ खेलाडी
• ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित)
• १ जना एनआरएनए (राख्न/नराख्ने गर्ने निर्णय टोलीको- नेपाल बाहिर बस्ने नेपाली खेलाडीलाई अवसर दिनको लागि।)