अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत आज साँझ छ बजे नेपालले लेबनानविरूद्ध खेल्दैछ।
खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। किर्गिस्तानविरूद्धको खेलमा घाइते भएकी डिफेन्डर निशा थोकरको स्थानमा समिक्षा घिमिरेले पहिलो रोजाइमा खेल्ने भएकी छिन्।
यस्तै अघिल्लो खेलमा दोस्रो हाफमा मैदान छिरेकी सावित्रा भण्डारी साम्बाले आज पहिलो रोजाइमा खेल्दैछिन्। अघिल्लो खेलमा पहिलो रोजाइमा रहेकी रश्मिकुमारी घिसिङ बेन्चमा छिन्।
नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बाले गोलपोस्ट तथा कप्तान जिम्मेवारीमा रहदा डिफेन्डरमा समिक्षासहित गीता राना , पूजा राना र विमला विक छन्। मिडफिल्डमा प्रिति राई, रेनुका नगरकोटी र विमला चौधरी छन्। फरवार्डमा साम्बासहित सविता रानामगर र रेखा पौडेलले खेल्दैछन्।
अघिल्लो खेलमा किर्गिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले फाइनलमा स्थान बनाउनेछ।
नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारसँग खेल्नेछ। लिगको शीर्ष स्थानमा रहेका टोलीबीच आगामी फागुन १४ मा उपाधि भिडन्त हुनेछ।