अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत दशरथ रंगशालामा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग खेलिरहेको छ।
खेलको पहिलो हाफ सकिँदा नेपालले एक गोलको अग्रता लिएको छ। खेलको दशौं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।
उनले सविता राना मगरको पासमा डिबक्स भित्रबाट गोल गरेकी थिइन्।
त्यसपछि नेपालले अग्रता दोब्बर गर्न पाएको अवसर सदुपयोग गर्न सकेन। नेपालका लागि पहिलो हाफमा रेखा पौडेल र रश्मीकुमारी घिसिङले पाएका अवसर सदुपयोग गर्न सकेनन्।
पहिलो हाफको इन्जुरी समयमा नेपाल अभागी सावित भयो। सुरूमा रश्मीको प्रहार बारमा लागेर फर्कियो। त्यसपछि सिक्स यार्ड बक्समा अनमार्क रहेकी सविताले रिबाउन्डमा गरेको प्रहार पनि बारमै लागेर फर्कियो। त्यसपछि फेरि रेखाले हानेको प्रहारमा किर्गिस्तानकी गोलकिपर बाधक बनिन्।
खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी बेन्चमा छिन्। फ्रान्समा व्यावसायिक फुटबल खेल्ने सावित्रा आज बिहान मात्र नेपाल आइपुगेकी थिइन्।
प्रतियोगितामा आजको पहिलो खेलमा म्यानमारले जित निकालेको थियो। म्यानमारले लेबनानमाथि ३-१ गोलको जित निकाल्यो।
फिफा विन्डोजमा भएका खेलहरूको दोस्रो म्याच डे फागुन ८ मा छ।
सो दिन दिउँसो म्यानमार र किर्गिस्तान तथा साँझ नेपाल र म्यानमार भिड्नेछन्।