तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि एफसी चितवनले राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टलाई मार्की खेलाडी घोषणा गरेको छ।
चितवनले अन्जनको आगमनसँगै टिममा आफ्नो अनुभव र क्षमता देखाउने विश्वास गरेको छ।
‘उनको ट्र्याक रेकर्ड, व्यावसायिकता र खेलप्रतिको समर्पणका कारण हाम्रो टोलीका महत्वपूर्ण खेलाडी बन्नेछन्,’ चितवन एफसीका अध्यक्ष सचिन ढकाल भने, ‘उनको उपस्थितिले हाम्रो फरवार्ड लाइनलाई राम्रो मात्र बनाउँदैन हाम्रा खेलाडी र फ्यानलाई पनि प्रेरणा दिनेछ।’
अन्जनले चितवनमा आबद्ध हुँदा उत्साहित भएको बताएका छन्। ‘एफसी चितवनमा आबद्ध भएर नेपाल सुपर लिगमा नयाँ चुनौती लिन पाउँदा उत्साहित छु,’ अन्जनले भने, ‘नयाँ टोलीका साथीसँग खेल्न र क्लबको सफलतामा योगदान दिन तत्पर छु।’
एनएसएलको अक्सन अर्को शनिबार हुँदैछ। त्यसअघि चितवनले उनलाई मार्की खेलाडी घोषणा गरेको हो।