२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लबले जितेको छ।
ब्ल्याक बुल्सले पहिलो सहभागितामै छ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३-१ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो।
खेलको ४० मिनेटमा अख्माडोभको गोलबाट ब्ल्याक बुल्सले अग्रता लियो। ५९ मिनेटमा अरिफजोनोभले अग्रता दोब्बर पारे। ६६ मिनेटमा सात्तारोभले तेस्रो गोल गर्दा ब्ल्याक बुल्स सहज स्थितिमा देखियो।

पुलिसका लागि शिशिर चौधरीले ७४ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्न पुग्यो।
उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख र उपविजेता पुलिसले ६ लाख पुरस्कार जिते।
पुलिसले एघारौं पटक फाइनल खेल्दा पाँचौं पटक उपाधि जित्न नसकेको हो।
ब्ल्याक बुल्सका सात्तारोभ उत्कृष्ट खेलाडी घोषित हुँदै टेलजी स्कुटर पाए। उनी सर्वाधिक गोलकर्ता समेत बने। उनले तीन गोल गरे।