इंग्लिस क्लब आर्सनलले आफ्ना फरवार्ड काई हाभर्ट्जलाई चोट लागेको पुष्टि गरेको छ।
दुबईमा भएको प्रशिक्षण शिविरको क्रममा ह्यामस्ट्रिङको चोट लागेपछि हाभर्ट्सले सिजनका बाँकी खेल गुमाउने भएको आर्सनलले बताएको छ।
आर्सनलले २५ वर्षीय हाभर्ट्जको शल्यक्रिया गर्नु पर्ने बताएको छ भने आगामी सिजनअघि टिममा फर्कने विश्वास गरेको छ।
हाभर्ट्जको अनुपस्थितिले आर्सनलले यस सिजनको बाँकी खेल विश्वास गरिएका स्ट्राइकरबिना खेल्नु पर्नेछ।
प्रशिक्षक मिकेल आर्टेटाले शनिबार लेस्टर सिटीसँग खेल्नुअघि शुक्रबारको पत्रकार सम्मेलनमा हाभर्ट्जको चोटको विषयमा थप जानकारी दिने अपेक्षा गरिएको छ।
यसअघि अर्का स्ट्राइकर गाब्रियल जेससको पनि एसिएलको चोटका कारण शल्यक्रिया गरिएको थियो। स्टार फरवार्ड बुकायो साकाको डिसेम्बरमा ह्यामस्ट्रिङको चोटमा शल्यक्रिया गरिएको छ।
यस्तै गेब्रियल मार्टिनेलीले गत हप्ता न्युकासलको घरेलु मैदानमा काराबाओ कपको खेलमा पराजित हुँदा चोट बोकेका थिए। उनी पनि एक महिनाभन्दा बढी समयका लागि मैदान बाहिर छन्।
हाभर्ट्जले यस सिजनमा ३४ खेल खेलिसकेका छन्। उनी १५ गोल र पाँच असिस्टका साथ क्लबको शीर्ष स्कोरर हुन्।
चोट बोकेका खेलाडीको सूचीमा हाभर्ट्ज थपिएपछि आर्सनलले उपाधि भिडन्तमा लिभरपुललाई दबाब दिन अझ मिहिनेत गर्नु पर्ने देखिन्छ।