नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको यो सिजनका लागि अक्सनको मिति घोषणा गरेको छ।
अक्सन आगामी फागुन १० गते शनिबार हुने भएको हो। अक्सनमा सहभागी सात टोलीले खेलाडी आबद्ध गर्न बोली लगाउनेछन्।
झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोली एनएसएलमा सहभागी छन्। यो सिजन स्पोर्टिङ डी इलाम र बीरगन्ज युनाइटेड बाहिरिएका छन्। अघिल्लो सिजन विराटनगरले पनि हात झिकेको थियो।
यो सिजनको अक्सनमा ए, बी, सी र डी श्रेणीका खेलाडी हुनेछन्। यसपटकदेखि खेलाडी रिटेन गर्न सक्ने प्रावधान ल्याइएको छ। आयोजकका अनुसार प्रत्येक श्रेणीका दुई वा तीन खेलाडी रिटेन गर्न सक्ने नियम लागू गरिएको छ।
प्रत्येक टोलीको २२ देखि २३ खेलाडी टोलीमा राख्न पाउनेछन्।
• १ मार्की खेलाडी
• २-३ जना ए श्रेणीका खेलाडी (१ जना रिटेन्सन सहित)
• ६ जना बी श्रेणीका खेलाडी
• ४ जना सी श्रेणीका खेलाडी
• १ जना डी श्रेणीका खेलाडी
• १ जना नयाँ खेलाडी
• ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित)
• १ जना एनआरएनए (राख्न/नराख्ने गर्ने निर्णय टोलीको- नेपाल बाहिर बस्ने नेपाली खेलाडीलाई अवसर दिनको लागि।)