नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले आगामी सातादेखि दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्।
आगामी फागुन ५ गतेदेखि दशरथ रंगशालामा नेपालले लेवनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा खेल्दैछ।
च्याम्पियनसिपका लागि ३९ जनाको प्रारम्भिक टोली घोषणा गर्दै माघ २० देखि प्रशिक्षण सुरू गरिएको थियो। त्यसपछि ३० जनामा झारिएको थियो। बिहीबार प्रशिक्षक तामाङले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्।
प्रशिक्षक तामाङले साँझ फ्लड लाइट र बिहान टर्फमा प्रशिक्षण गरिरहेको उल्लेख गर्दै सबै खेलाडी फिट रहेको बताए। उनले गत साफको प्रदर्शनले खेलाडी उत्साहित रहेकाले जित्ने लक्ष्यसहित तयारी गरिरहेको बताए।
घरेलु लिग टर्फमा खेलिरहेको र यो प्रतियोगिता घाँसे मैदानमा खेल्दा केही फरक पर्नसक्ने भए पनि आफ्ना खेलाडी अभ्यस्त हुने उनको विश्वास छ। घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहने हुने भए पनि खेलमा यसै हुन्छ भन्न नसकिने र त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उनले बताए।
म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयताका मथिल्ला टोलीसँग खेलिरहेकाले म्यानमार बलियो रहेको तामाङ बताए। यद्यपी आफ्नो टोलीले पनि त्यहीँअनुरूप तयारी गरिरहेको उनको भनाइ छ।
मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीको महत्वपूर्ण खेलाडी हुन्। उनीहरू गत महिला साफ च्याम्पियनसिपका दौरान नै चोटका कारण मैदान बाहिर छन्। अहिले दुवै जना रिकभर भैसकेको छैनन्। प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको स्थानमा विकल्प खोजिएको बताए। नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान रहेको प्रशिक्षक तामाङको विश्वास छ।
समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आफैँ उत्साहित रहेको बताए। टोलीको अग्रपंक्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुनसक्ने उनको भनाइ छ। यद्यपि, पछिल्ला खेलका रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ ।
एएफसी एशियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो। सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो। यद्यपि, म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन्।
म्यानमार हाल फिफाको ५५ औं स्थानमा छ। जुन नेपालभन्दा ४८ औं स्थान माथि हो। किर्गिस्तान १२८ औं र लेबनान १३४ औं स्थानमा छन्।
प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेको टोली भए पनि खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा गरे।
आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौं भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा गरेका छन्। लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उनको भनाइ छ।
नेपाली टोलीकी युाव मिडफिल्डर प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगितामा सुखद् हुने आशा गरिन्। फिफा वरीयताले खासै असर नहुने भन्दै उनले आफ्नो टोलीमा क्षमतावान खेलाडी रहेको बताइन्।
सबै टोली बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने प्रितिको अपेक्षा छ। चोटले केही खेलाडी घाइते भएपनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीति बताउँछिन्। जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली रहेको रहेको छ।
प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।
लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।
नेपालका सबै खेल दशरथ रंगशालामा हुनेछन् भने साँझ साढे पाँच बजे सुरु हुनेछ। लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ।
नेपाली टोली
गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई
मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
खेल तालिका
फागुन ५
म्यानमार भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस किर्गिस्तान : साँझ ६ बजे
फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस २ बजे
नेपाल भर्सेस लेवनान : साँझ ६ बजे
फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस म्यानमार : साँझ ६ बजे
फागुन १४ गते
फाइनल : साँझ ६ बजे