आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ।
अन्तिम क्वार्टरफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले पराजित गरेर अन्तिम चारमा स्थान पक्का गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले थन्डरबोल्टमाथि ३-० गोलको जित निकाल्यो। उसले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल थप्यो।
खेलको ४१ मिनेटमा अब्दुकोडिरोभले गोल गर्दै ब्ल्याक बुल्सलाई अग्रता दिलाए। ७३ मिनेटमा डाभ्लात्जोनोभले अग्रता दोब्बर पारे।
दुई मिनेटपछि सातोरोभले तेस्रो गोल गरेपछि ब्ल्याक बुल्स जिततर्फ अघि बढेको थियो। अब अन्तिम चारमा ब्ल्याक बुल्सले पर्सी बिहीबार थ्रीस्टार क्लबसँग खेल्नेछ।
अर्को सेमिफाइनलमा भोलि बुधबार चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल शनिबार हुनेछ।