नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बी डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौँले जितेको छ।
झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यू स्टारलाई ३–० गोल अन्तरले हरायो ।
उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु दुई लाख २५ हजार, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित न्यू स्टार एफसीले नगद रु एक लाख २५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता टोली प्लानिङ ब्वाइजका युवराज पुरी, सर्वाधिक गोलकर्ता न्यू स्टारका मिलन लिम्बू, उदीयमान खेलाडी आयोजक नव ज्योति युथ क्लबका अनिल गिरी भए । उनीहरुले नगद रु १० हजार र ट्रफी पाए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रताप राई भए । उनले नगद रु १५ हजार र ट्रफी पाए । उनी यसअघि दुई खेलमा प्लेयर अफ द म्याच भएका थिए ।
प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर राजेश शाहले खेलको चौथो र आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा अरमान बेडोङले अर्को एक थोल थपे ।
प्लानिङ ब्वाइज भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा आयोजक नव ज्योति युथ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।