२५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ ।
आज धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको होे ।
खेलको २४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अन्तर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा एनआरटी क्लबका हेनरी पोकुले गोल गर्न सफल भएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८औँ मिनेटमा एनआरटीका हेनरी पोकुले एक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए भने यही गोल निर्णायक बन्यो ।
उपाधिसँगै एनआरटी क्लबले नगद रु १० लाख र उपविजेता चर्च ब्वाइजले नगद रु पाँच लाख प्राप्त गरेको छ । आजको खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका हेनरी पोको घोषित भए ।