अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन पदाधिकारी र केन्द्रीय सदस्यसहित सात जनाले माग गरेका छन्।
वर्षमा चार पटक कार्यसमिति बैठक अनिवार्य बस्नु पर्ने प्रावधान भएको तथा लामो समयदेखि बैठक नबसेकोले विधानविपरित काम भइरहेको उनीहरूको आरोप छ।
कार्यसमिति बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही तथा केन्द्रीय सदस्यहरू रुपेश अधिकारी, रमेश व्यञ्जनकार, रवीन्द्र चन्द र पेमा लामा डोल्मा छन्।
उनीहरूले इमेलमार्फत् एन्फा महासचिव किरण राईलाई पत्र पठाएका छन्।
एन्फा विधानअनुसार एक तिहाई सदस्यले कार्यसमिति बैठक बोलाउन माग गर्न सक्नेछन्। मागपछि अध्यक्षले २१ दिनभित्र बैठक आह्वान नगरे कार्यसमितिका अरू सदस्यले समेत कार्यसमिति बैठक आह्वान गर्न सक्नेछन्। अहिले बैठक माग गर्ने संख्या एक तिहाईभन्दा बढी हो।
सात जनाले बैठक आह्वान गर्दै छलफल हुनु पर्ने एन्जेडा समेत समावेश गरेका छन्।
एजेन्डाहरू यस्ता छन् :-
१. सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाको लागि एन्फाको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ सम्बन्धमा।
२. महिना लिग, महिला एकेडेमी, मिसन २०२७-२०३१ महिला फुटबल विकास रणनिति तथा जिम्मेवारी सम्बन्धमा।
३. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकाडेमी संचालन सम्बन्धमा।
४. सहिद स्मारक ए डिभिजन लिग संचालन सम्बन्धमा।
५. खेलाडीहरूलाई घोषणा गरीएको पुरस्कार वितरण सम्बन्धमा।
६. आन्तरिक लेखा परीक्षण प्रतिवेदन र अडिट रिपार्ट सम्बन्धमा
७. सहिद स्मारक बी डिभिजन लिग र एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा ।
८. एन्फा महासचिव लगाएत सचिवालय कर्मचारीहरुको कार्यक्षमता मूल्याङकन तथा तलब भत्ता सेवा सुविधाहरूको पुनर्मूल्याङकन सम्बन्धमा ।