नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अस्ट्रेलियाका म्याट रोस नियुक्त हुने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोसलाई प्रशिक्षक नियुक्त गरेको एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
उनी नेपाल आइपुगिसकेका छन्। उनको नियुक्तिको विषयमा एन्फाले औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।
४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। यसअघि उनी सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए।
उनी सहायक प्रशिक्षक रहदा कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो। फाइनलमा कोरियाले चीनसँग ३-२ को हार ब्यहोरेको थियो।
कोरिया पुग्नुअघि उनले चीनको यू-१५ महिला टोलीको प्रमुख प्रशिक्षक बनेर काम गरेका थिए।
त्यसअघि उनले जर्मन बुन्डेस लिगा क्लब फ्रान्कफर्टको महिला टोलीको सपोर्ट स्टाफ (भिडिओ एनालिस्ट)को रुपमा चार वर्ष काम गरेका थिए। क्लबले सन् २०१५ मा महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यसपछि उनले युइएफएको लाइसेन्स लिएका थिए। लाइसेन्स लिएपछि उनले दुई वर्ष फ्रान्सफर्टको प्रशिक्षक भएर काम गरे। त्यहाँबाट सन् २०१७ मा उनी स्विडेनको शीर्ष डिभिजनको फुटबल खेल्ने महिला टोली भिट्जोको प्रशिक्षक भएका थिए। स्विडेनबाट उनी चीन हुँदै कोरिया पुगेका थिए।
पछिल्लो समय उनी युएईको युनाइटेड एफसीको सहायक प्रशिक्षक थिए। अब रोसले एएफसी एसियन कप छनोटका खेलमा नेपाली टोलीको नेतृत्व गर्नेछन्।
प्रशिक्षक बन्नका लागि ४०५ जनाको आवेदनबाट रोस छनोट हुन सफल भएका हुन्।
एन्फाले गत भदौ अन्तिम साता नयाँ प्रशिक्षकको आवेदन खुलाएको थियो।
इटलीका प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेससँगको करार नथप्ने निर्णय गर्दै एन्फाले नयाँ प्रशिक्षकको लागि आवेदन खुलाएको थियो।
प्रशिक्षकको लागि प्रो लाइसेन्ससहित व्यवसायिक स्तरको फुटबलमा कम्तिमा ५ वर्षको अनुभव हुनु पर्ने शर्त थियो।
त्यसपछि आवेदन दिएका ४०५ जना मध्येबाट एन्फाले सुरुमा २० जनाको सर्टलिस्ट गरेको थियो। २० जनाबाट १० जनाको अर्को सर्टलिस्ट गरेपछि एन्फाले ५ जनाको सर्टलिस्ट तयार पारेको थियो।
५ जनाको अन्तर्वार्ता लिएपछि एन्फाले नेपालको नयाँ प्रशिक्षकको रुपमा रोसलाई नियुक्त गरेको हो।
एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह 'एफ' मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।
जसअन्तर्गत नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने तय छ।
एसियन कप छनोटमा मार्चमा मलेसियासँग होम म्याच खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।