इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीको युरोपियन च्याम्पियन लिग यात्रा कठिन मोडमा पुगेको छ। बुधबार राति लिग चरणको सातौं खेलमा सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा फ्रेञ्च क्लब पिएसजीसँग ४-२ गोलले पराजित भयो।
सिटीले ५० मिनेटमा ज्याक ग्रेलिसको गोलबाट अग्रता लियो। ५३ मिनेटमा हाल्यान्डले सिटीको अग्रता दोब्बर पारेका थिए।
त्यसपछि घरेलु मैदानमा पिएसजी खेलमा फर्कियो। उसका लागि डेम्बेलले ५६ मिनेटमा पहिलो गोल गर्दा ६० मिनेटमा बार्कोलाले बराबरी गोल गरे।
७८ मिनेटमा जोआओ नेभेसको गोलबाट पिएसजीले खेलमा ३-२ को अग्रता लियो। ९०+३ मिनेटमा गोन्कालो रामोसले चौथो गोल गर्दा पिएसजीले जित पक्का गर्यो।
जितपछि पिएसजी ७ खेलबाट १० अंक जोडेर २२औं स्थानमा उक्लियो। सिटी भने ८ अंकसहित २५ औं स्थानमा छ।
नयाँ स्वरुपको च्याम्पियन्स लिगमा ३६ टोलीले सुरुको लिगमा आठ खेल खेल्दैछन्। आठ खेलपछि शीर्ष आठ टोली अन्तिम १६ मा पुग्नेछन्। आठौंदेखि २४औं स्थानसम्मका १६ टोलीले अन्तिम १६ का लागि प्लेअफ खेल्नेछन्।
अहिले अंक तालिकामा सिटी प्लेअफ जोनभन्दा एक स्थान तल अर्थात् २५औं स्थानमा छ। अब सिटीले अन्तिम खेलमा अर्को साता लिगको अन्तिम खेल खेल्दैछ। घरेलु मैदानमा बेल्जियन क्लब ब्रुगविरूद्ध हुने सो खेलमा जित हात पारे मात्र सिटीको अन्तिम १६ का लागि प्लेअफ खेल्ने सम्भावना हुनेछ। यदि सो खेलमा बराबरी वा हार ब्यहोरेमा सिटी लिग चरणबाटै बाहिरिनेछ।