इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। अब उनी क्लबमा सन् २०३४ को सिजनसम्म रहनेछन्।
सन् २०२२ मा जर्मन क्लब बोरूसिया डर्टमुन्डबाट सिटीमा आबद्ध भएका हालान्डले त्यसबेलादेखि क्लबका लागि १२६ खेलमा १११ गोल गरिसकेका छन्।
उनको अघिल्लो सम्झौतामा रिलिज क्लज समावेश गरिएको थियो भने सन् २०२७ मा समाप्त हुनेवाला थियो।
नयाँ सम्झौताअनुसार हालान्ड आफ्नो ३४ औं जन्मदिनसम्म सिटीमा रहनेछन्। यद्यपी उनले साढे नौ वर्षको सम्झौता अवधिमा क्लब भने छाड्न सक्नेछन्।
‘म मेरो नयाँ सम्झौतामा हस्ताक्षर गरेकोमा साँच्चै खुसी छु र यो महान् क्लबमा अझ बढी समय बिताउन तत्पर छु,’ हालान्डले भने, ‘म्यानचेस्टर सिटी एउटा विशेष क्लब हो, जहाँ अद्भुत समर्थक छन्।’
हालान्डको सम्झौताको अवधि प्रिमियर लिगकै सबैभन्दा लामो हो। यो सम्झौताले गत अगस्टमा चेल्सीसँग कोल पाल्मरले गरेको नौ वर्षे सम्झौतालाई उछिनेको छ।
नर्वेली फरवार्डले सिटीबाट दुई प्रिमियर लिग उपाधि, एफए कप, च्याम्पियन्स लिग र सुपर कप जितेका छन्।