गत शुक्रबार स्पेनिस ला लिगाअन्तर्गत भ्यालेन्सियामाथि रियल म्याड्रिडले २-१ गोलको जित निकालेको खेलमा रातो कार्ड पाएका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ।
खेलमा भिनिसियसलाई सिधा रातो कार्ड देखाइएको थियो। उनले भ्यालेन्सियाका गोलकिपर स्टोल ड्रिभिट्रेभ्सीलाई पछाडिबाट धक्का दिनुका साथै हात गर्धन समातेका थिए।
खेलमा भ्यालेन्सियले अग्रता लिए पनि ८५ औं मिनेटमा म्याड्रिडका लागि वैकल्पिक खेलाडी लुका मोड्रिचले बराबरी गरेका थिए। जुडे बेलिङ्घमले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए।
प्रशिक्षक कार्लो एन्सेलोटीले खेल पछि भिनिसियसलाई रातो कार्ड दिएकोमा असन्तुष्टि व्यक्त गर्दै क्लबले अपील गर्ने बताएका थिए।
खेलको ७९ औं मिनेटमा रातो कार्ड देखिएपछि भिनिसियसले आक्रोशित प्रतिक्रिया दिएका थिए। तर उनले पछि आफ्नो कार्यको लागि माफी मागेका थिए।
उनी म्याड्रिडको बिहीबार साउदी अरेबियाको रियादमा मालोर्का विरुद्धको सुपर कप सेमिफाइनलको लागि उपलब्ध हुनेछन्। तर उनी क्लबको अर्को दुई ला लिगा खेलहरू लास पाल्मास र रियल भालाडोलिडविरुद्ध बाहिर हुनेछन्।