पाँचथर जिल्लाको फिदिममा आज सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँका फरवार्ड समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गरेका छन्।
सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हासिल गरेको हो।
फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि यात्रा तय गरेका तामाङले विद्युतीय स्कुटर प्राप्त गरे।
फाइनल खेलमा मछिन्द्र फुटबल क्लबले अग्रता लिएको थियो। पैतालीसौँ मिनेटमा गोल गर्दै बिजु भुजेलले मछिन्द्रलाई अग्रता दिलाए।
७८औँ मिनेटमा गोल गर्दै छिरिङ लामाले चर्च ब्वाइजलाई बराबरीमा फर्काए। सनिस श्रेष्ठले ८८औँ मिनेटमा गोल गर्दै पुनः मछिन्द्रलाई अग्रता दिलाए।
पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई हारबाट बचाए। प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता बनेका तामाङले विद्युतीय स्कुटर र सर्वाधिक गोलकर्ताका रूपमा रु १५ हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै रु १० हजारका दरले पुरस्कार प्राप्त गरे। फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका सनिस श्रेष्ठ घोषित भए।
प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गरे।
विजेता र उपविजेता टोलीलाई फाइनल खेलका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णराज बस्नेत, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरलगायतले पुरस्कार वितरण गरे। फिदिम नगरपालिका मुख्य प्रवर्द्धक रहेको फाल्गुनन्द गोल्डकप छ वर्षपछि पुनः सञ्चालनमा आएको हो।