आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालको आयोजनामा लुम्बिनी कप हुने भएको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आइतबार संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरे।
लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध , महिला खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ । फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ ।
पश्चिम नेपालमा महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए।
उनले भने , ‘‘लुम्विनी कप नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता हुनेछ । आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौं ।’’
पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सवैलाई सहकार्यको लागि शाहले अपिल पनि गरिन्।
अखिल नेपाल फुटबल संघका सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सृजना गर्ने बताए। प्रतियोगितालाई सफल बनाउन एन्फाले सक्दो सहयोग गर्ने उनले बताए।
नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुसीको कुरा भएको राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताइन्। उनले भनिन्, ‘‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’’
नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगिताको सफलताको शुभकामना दिइन्। उनले भनिन्, ‘नेपालमा महिला फुटबल सुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरु हुनु निकै प्रशंशनीय छ । यसले निरन्तरता पाओस । सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ ।’