इंग्लिस क्लब म्यानचेस्टर सिटी अहिले खराब लयमा छ। सिटी सबै प्रतियोगितामा गरी लगातार पाँच खेलमा पराजित भएको छ।
शनिबार राति इंग्लिस प्रिमियर लिगमा सिटीलाई टोटेनहमले ४-० गोलले हरायो। पराजित भएपछि उपाधि रक्षा अभियान बिस्तारै कमजोर बन्दै गएको छ।
सिटीले पछिल्लो पटक अक्टोबर २६ मा प्रिमियर लिगको खेलमा साउथह्याम्टनलाई १-० गोलले पराजित गरेको थियो।
त्यसपछि सिटी इएफएल कपको खेलमा अक्टोबर ३१ मा टोटेनहमसँग २-१ ले पराजित भयो। दुई दिनपछि फेरि सिटीले अर्को हार ब्यहोर्यो। प्रिमियर लिगअन्तर्गत नोभेम्बर २ मा सिटीलाई बर्नमाउथले २-१ गोलले नै हरायो।
त्यसपछि च्याम्पियन्स लिगको खेलमा पनि सिटी पराजित हुन पुग्यो। नोभेम्बर ६ मा सिटीलाई पोर्चुगिज क्लब स्पोर्टिङले ४-१ गोलले पराजित गर्यो। लगातार पराजित भइएको सिटीले चौथो हार ब्यहोर्ने क्रममा ब्राइटनविरूद्ध नोभेम्बर ९ मा २-१ को पराजय भोग्यो। यो खेल प्रिमियर लिगको थियो।
त्यसपछि फिफा विन्डोका कारण प्रिमियर लिगसहितका क्लब फुटबलका खेल दुई साता रोकियो। शनिबार फेरि सिजनका खेलहरू सुरु हुँदा सिटी झनै खराब लयमा देखियो। सिटीलाई घरेलु मैदानमै टोटेनहमले ४ गोल गरिदियो।
सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित भएको यो पहिलो पटक हो। सिटी पाँच मध्ये तीन खेल प्रिमियर खेलमा पराजित हुँदा एक खेल इएफएल र अर्को खेल च्याम्पियन्स लिगमा हार्यो।
यस्तै प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षक करिअरमा यो सबैभन्दा खराब प्रदर्शन हो।
लगातार पाँच खेलमा पराजित भएपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले पछिल्लो आठ वर्षमा यस्ता खराब दिन कहिल्यै नदेखेको बताएका छन्।
टोटेनहमसँगको खेलपछि आफूले हार स्विकार गरेको बताउँदै उनले घरेलु मैदानमै ४ गोल खाएपछि भन्न केही बाँकी नहुने बताए।
‘आठ वर्षमा हामी यस्तो अवस्थामा कहिल्यै थिएनौ। मलाई थाहा थियो कि ढिलो होस् वा चाँडो हामी हार्नेछौं। मैले लगातार तीन प्रिमियर लिग खेलहरू हार्ने भने अपेक्षा गरेको थिइनँ। अब हामी वास्तविकतालाई अस्वीकार गर्न सक्दैनौं। फुटबलमा कहिलेकाँही यस्तो हुन्छ र जीवन यहाँ छ,’ उनले भने।
१८ वर्षकै खराब लयमा रहेको सिटीले ग्वार्डिओलाको प्रशिक्षणमा लगातार तीन प्रिमियर खेल हारेको यो पहिलो पटक हो भने उनको प्रशिक्षणमा घरेलु मैदानमा चार गोल खाएको पनि पहिलो पटक हो।
यस्तै सन् १९५६ पछि प्रिमियर लिगको साविक विजेताको रुपमा लगातार पाँच खेल हार्ने सिटी पहिलो टोली समेत बन्यो।
यस्तै सन् २००३ मा आर्सनलसँग ५-१ गोलले पराजित भएपछि सिटीको शनिबारको हार घरेलु मैदानको सबैभन्दा ठूलो हार हो।
यता ग्वार्डिओलाले टोटेनहमसँग अर्को खराब कीर्तिमान पनि बनाए। उनले आफ्नो प्रशिक्षण करिअरमा सबैभन्दा बढी हार्ने टोली टोटेनहम (९ हार) भएको छ।
सिटीको हारको प्रमुख कारण प्रभावकारी मिडफिल्ड नहुनुलाई मानिएको छ। बालेन डि’अर विजेता रोड्री चोटका कारण अझै मैदान फर्किएका छैनन्। यस्तै काभाकिक पनि टोलीमा छैनन्। टोलीमा फर्किएका गुन्डोओन पनि सिटीमा अहिले प्रभावकारी देखिएका छैनन्।