पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इन्टरनेटमा धमाका मच्चाउन भन्दै बोलाएको अतिथि सार्वजनिक गरेका छन्।
बिहीबार रोनाल्डोले युट्युब प्रिमियरमा मिस्टर बिस्टसँगको थम्बनेल राख्दै पाहुनामा उनैलाई बोलाएको घोषणा गरेका हुन्। संसारमा सबैभन्दा धेरै युट्युब सब्सक्राइबर भएको व्यक्ति मिस्टर बिस्ट हुन्। उनको युट्युब च्यानलमा हाल ३३१ मिलियन सब्सक्राइबर छ।
तीन दिनअघि रोनाल्डोले 'अब मेरो नयाँ अतिथि' भनेर आफ्नो युट्युब च्यानलमा एक भिडिओ राखेका थिए। पूर्व फुटबल खेलाडी रियो फर्डिनान्डसँग गरिएको उक्त कुराकानीमा नयाँ अतिथि को हो भनेर रोनाल्डोसँग सोधिएको थियो।
त्यस्तै, मंगलबार रोनाल्डोकी प्रेमिका जर्जिनासँगको भिडिओमा पनि अतिथि को हो भनेर खुलाउन खोजेको भिडिओ अपलोड भयो। तर दुबै भिडिओमा इन्टरनेटमा धमाका मच्चाउने भनिएका रोनाल्डोको अतिथिबारे खुलाइएको थिएन।
बिहीबार राखिएको प्रिमियरको थम्बनेलले भने उनका अतिथि मिस्टर बिस्ट हो भनेर खुलासा भएको हो।
भदौ ५ गते 'युआर क्रिस्टियानो' नामक युट्युब च्यानलमा डेब्यु गरेका थिए। उनको युट्युब च्यानलमा हाल ६७.३ मिलियन सब्सक्राइबर छन्।
रोनाल्डोले युट्युब च्यानल खोलेपछि आफ्ना फ्यानलाई फुटबलको बारेमा मात्र नभई आफ्नो ‘परिवार, स्वास्थ्य, पोषण, तयारी, रिकभरी, शिक्षा र व्यवसाय’ बारे पनि सामग्री राख्दै आफ्नो जीवनका अभूतपूर्व क्षण पोस्ट बाचा गरेका थिए।
अहिलेसम्म रोनाल्डोले आफ्नो च्यानलमा ७१ वटा भिडिओ अपलोड गरेका छन्।