सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका एन्फाका एकेडेमीका फुटबलरका अभिभावकले एन्फाको लापरवाहीका कारण आफ्नो सन्तान गुमाएको ५३ दिन बितिसक्दा पनि आफूहरूले न्याय पाउन नसकेको बताएका छन् ।
मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित एन्फाका एकेडेमीका ६ जना फुटबलरले गत असोज १२ गते पहिरो परेर ज्यान गुमाएका थिए ।
उक्त पहिरोमा परी ज्यान गुमाएका ६ फुटबरमध्ये पाँच जनाका अभिभावले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानको ज्यान गएकाले उनीहरूमाथि कारबाही गर्न राज्यका सबै संयन्त्रले चासो नदेखाएका आरोप लगाएका छन्।
पीडित परिवारले आफूहरूले एन्फालाई विश्वास गरेर आफ्नो बच्चाहरू सुम्पिए पनि एन्फाको लापरवाहीका कारण आफ्नो सन्तानले ज्यान गुमाएको आरोप लगाएका छन्।
पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता लगायतमा घटनाको निष्पक्ष छानबिनका लागि ज्ञापन बुझाउँदा पनि न्याय नपाएको दुखेसो पोखेका छन् । उनीहरूले सिस्नेरी घटनामा प्रत्यक्ष दोषी देखिएका व्यक्तिलाई नै छानबिन समितिमा राखेर थप पीडा थपेको आरोप लगाएका छन्.
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थी राखेका थियो । कुलेखानीको बाध फुट्नसक्ने भन्दै त्यहाँबाट अन्यत्र जाने क्रममा सिस्नेरीको पहिरोमा परी हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी, साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो ।
उक्त पहिरोको परी ज्यान गुमाएका विकल रेग्मीकी आमाले आर्थिक अवस्था कमजोर हुँदा पनि आफ्ना छोराका लागि शुल्क तिर्दै आएको बताइन् । देशका लागि खेल्ने छोराको लक्ष्य रहेकाले एकेडेमीमा कठिनाई हुँदा पनि विश्वास गरेको र तर त्यो विश्वासअनुरूप एन्फा गैरजिम्मेवारी हुँदा आफ्ना सन्तानको ज्यान नै गएको विकलकी आमाले बताइन् । बाढी पहिरो आउने पूर्वसूचना हुँदा पनि एन्फा तीन दिनसम्म चुप लागेर बसेको र वत्सला देवि विद्यालयका शिक्षकले पनि आफ्ना सन्तानलाई ढोका थुनेर त्यहाँबाट गएको आरोप लगाइन् । ज्यान गुमाएका विकल रेग्मीकी आमाले आफूलाई क्षतिपूर्ति नभई न्याय चाहिएको बताइन् ।
पीडित परिवारले उक्त एकेडेमीमा बालबालिकाको स्वास्थ्यमा पनि खेलबाड हुने गतिविधि भइरहेको पनि आरोप लगाएका छन् । बिना डाइट १३ वर्षमुनिका बालबालिकालाई एन्फाले प्रशिक्षण गर्ने गरेको आरोप लगाएका छन् । —न्युज एजेन्सी नेपाल