ताजिकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले हार बेहोरेको छ।
बुधबार घरेलु टोली ताजिकिस्तानले नेपाललाई ४–० गोलले पराजित गरेको हो।
ताजिकिस्तानको जितमा माबतसोभ र जालिलोभले २-२ गोल गरे।
माबतसोभले १९ र ४५ मिनेटमा गोल गरेका थिए। जालिलोभले २९ र ५० मिनेटमा गोल गरेका थिए।
वर्षाका बीच भएको खेलमा नेपाली खेलाडी फिक्का देखिएका थिए।
नेपालले विपक्षको पोस्टमा खासै आक्रमण बुन्न सकेन। नेपाली राष्ट्रिय फुटबल टोली पाँच महिनापछि मैदान फर्किएको हो।
पछिल्लोपटक नेपालले गत जेठमा यमनसँग फिफा विश्व कप तथा एसियन कपको छनोट खेलमा २-२ गोलको बराबरी खेलेको थियो।
नेपालले अब ताजिकिस्तानमै अर्को मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ।
नेपालले शनिबार अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ।