नेपाली राष्ट्रिय फुटबल टोली ५ महिनापछि मैदान फर्किदैछ। नेपाली टोलीले बुधबार ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै पाँच महिनापछि मैदान फर्कन लागेको हो।
नेपालले ताजिकिस्तनको डुसानबेमा घरेलु टोली ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपाल र ताजकिस्तानबीच बुधबार हुने खेल ६:४५ बजे सुरु हुनेछ। दोस्रो खेल तीन दिनपछि अफगानिस्तानसँग हुनेछ।
नेपालले पछिल्लो पटक गत जेठमा अन्तर्राष्ट्रिय खेल खेलेको थियो। फिफा विश्वकप र एसियन कप छनोटअन्तर्गतको साउदी अरेबियामा यमनविरूद्ध भएको खेल २-२ को बराबरीमा सकिएको थियो।
पाँच महिनापछि मैदान फर्किएको नेपालका लागि दुवै खेल सजिलो छैन। फिफा वरीयतमा नेपालभन्दा अघि रहेका ताजिकिस्तान र अफगानिस्तान दुवै टोली तुलनात्मक रुपमा बलिया छन्।
नेपाल फिफा वरीयतमा १७६औं स्थानमा रहदा ताजिकिस्तान १०५ र अफगानिस्तान १५१औं स्थानमा छन्।
नेपालले अहिलेसम्म ताजिकिस्तानविरूद्ध तीन खेल खेलेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ।
सन् २०१७ मा एसियन कप छनोटको दुवै लेगका खेलमा नेपालमाथि ताजिकिस्तानले जित निकालेको थियो। ताजिकिस्तानले पहिलो खेलमा २-१ र दोस्रो खेलमा ३-० गोलको जित निकालेको थियो। सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा पनि ताजिकिस्तानले २-० गोलको जित निकालेको थियो।