साफ यू-२० च्याम्पियनसिपको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानका कारण समस्यामा परेको छ।
दशरथ रंगशालामा निर्धारित प्रतियोगिताको खेल मैदानको अवस्थाका कारण त्यहाँ हुने वा नहुने निश्चित छैन।
प्रतियोगिताका म्याच कमिसनरले बिहीबार दशरथ रंगशालाको निरीक्षण गरेपछि निर्णय दिनेछन्।
उनले दशरथ रंगशालामा खेल हुन नसक्ने बताएमा प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा हुनेछ।
एन्फाको कृत्रिम घाँसे मैदानको पनि गुणस्तरमा प्रश्न उठिरहेको छ। कृत्रिम घाँसको आयु १० देखि १२ वर्षसम्म हुने भनिएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए। उनका अनुसार एन्फा कम्प्लेक्सको कृत्रिम घाँस बिछ्याइएको १२ वर्ष भइसक्यो।
कतिपय खेलाडीले एन्फा कम्प्लेक्सको अवस्था पहिलोको जस्तो नभएको र खेल्दा अप्ठ्यारो हुने गरेको बताउने गरेका छन्।
यो बाहेक काठमाडौं उपत्यकामा च्यासल रंगशाला सरकारले करोडौं लागनी गरेर बनाएको छ। तर यो मैदानमा मनसुनको बेला बाढी पस्ने गरेको छ। यस्तै मैदानको मापदण्ड समेत नपुगेको एन्फाले नै बताइसकेको छ। यसअघि साफ यू-१६ महिला च्याम्पियनसिपका खेल च्यासल मैदानबाट सारेर एन्फामा गरिएको थियो।
कतिपय बेला च्यासल मैदानमा बाढी पस्दा पौडी पोखरी जस्तो बन्ने गरेको छ। जसले मैदानको स्वरूप समेत बिग्रिने गरेको छ।
गत मंगलबार दशरथ रंगशालामा एसियाली फुटबल महासंघ (एएफसी) को तेस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता एएफसी च्यालेन्ज कप आयोजना भयो। मैदानमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारोबीच खेल भएको थियो। जापानबाट तीन पटक फिफा विश्वकप खेलेका होन्डाको कप्तानीमा उत्रिएको पारोसँग चर्च ब्वाइज २-१ ले पराजित भयो। भुटानी क्लबसँग नेपाली क्लबको यो पहिलो हार थियो।
यसरी नेपाली क्लबले खराब कीर्तिमान बनाएको नतिजाभन्दा मैदानको अवस्थाले बढी चर्चा पायो। कपका लागि अस्थायी मान्यता पाएको दशरथ रंगशालामा भएको सो खेल सुरू भएलगत्तै हिलाम्मे भएको थियो। मैदानमा खेलाडीका बुट गाडिएका थिए भने १० मिनेट बित्न नपाउँदै मैदान ‘खेत’ मा परिणत भएको थियो। बल राम्ररी गुड्न नसक्नु सामान्य झैं थियो।
दशरथ रंगशालाको मैदान खराब भएको विषयमा यसअघि पनि पटक-पटक प्रश्न उठेका थिए। गत चैतमा भने मैदानले अन्तर्राष्ट्रिय मान्यता गुमाएपछि मैदानको अवस्था सतहमा भएको थियो। मैदानको स्वामित्व राष्ट्रिय खेलकुद परिषदमा छ। खेलकुद परिषदले एन्फालाई मैदानको मर्मत गर्ने जिम्मा दिएको थियो। तर मैदानमा एन्फाका प्रतियोगिता बाहेकका गतिविधि भने खेलकुद परिषदले नै अनुमति दिन्थ्यो। कहिले फुटबल बाहेकका खेल त कहिले खेलकुद बाहेकका कार्यकम हुँदा मैदान जीर्ण बन्दै गएको थियो।
एन्फाबाट मर्मत राम्रोसँग हुन नसकेको भन्दै राष्ट्रिय खेलकुद परिषदले गत चैतमा जिम्मेवारी खोसेको थियो। तर खेलकुद परिषदबाट पनि राम्रोसँग मैदान मर्मत हुन नसकेको चर्च ब्वाइज र पारोबीचको खेलको दृष्यदेखि पुष्टि गरेको छ।
एन्फाले साफ यू-२० च्याम्पियनसिपको खेल दशरथ रंगशालामा गराउन थप मर्मत गर्ने उपाध्यक्ष दीपक खतिवडा बताउँछन्। खतिवडाका अनुसार सुरूआती खेल गराउन नसके पनि च्याम्पियनसिपका पछिल्ला खेल गराउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा गराए।
दशरथ रंगशालामा खेल गराउन नसके एन्फाले आर्थिक घाटा समेत बेहोर्नु पर्ने देखिएको छ। रंगशालामा खेल भए एन्फाले १२ हजारसम्म टिकट बिक्री गराउन पाउँछ। तर खेल सारेर एन्फा कम्प्लेक्समा गरिए १५ सय मात्र टिकट बिक्री गर्ने एन्फा प्रवक्ता शाहले बताए।
मैदानकै कारण यसअघि नेपालले फिफा विश्वकप/एसियन कप छनोटका दुई वटा होम म्याच गुमाइसकेको छ। यसरी मैदानकै खेल र प्रतियोगिता गुमाउन पर्ने अवस्था अन्त्य गर्न आफ्नै मैदान बनाउन एन्फाले योजना अघि सारेको प्रवक्ता शाह बताउँछन्।
‘हामी सरकार र फिफाबाट सहयोग लिएर आफ्नै मैदान बनाउने योजनामा छौं। यसमा फिफाबाट सहयोग हुने पत्र समेत आएको छ। त्यसका लागि ललितपुर र भक्तपुरका विभिन्न स्थानमा जग्गा हेर्दैछौं। जग्गा प्राप्त गरेपछि प्रक्रिया अघि बढ्छ,’ शाहले भने।
एन्फाले रंगशालाका लागि जग्गा खोज्न थालेको यो पहिलो पटक भने होइन। १५ वर्षदेखि जग्गा खोजिरहेको एन्फाको कुरा कसरी पत्याउने? प्रवक्ता शाह जबाफ दिन्छन्, ‘यसपटक भने हामी जग्गा फाइनल गरेर घोषणा नै गर्छौं।’
भविष्यको योजना बनाए पनि एन्फालाई अहिलेकै चिन्ताले छोडेको छैन। साफ यू-२० च्याम्पियनसिपपछि अर्को महिना नेपालले महिला साफ च्याम्पियनसिप आयोजना गर्ने कार्यक्रम छ। तर महिला साफअघि दशरथ रंगशालामा रग्बीको अन्तर्राष्ट्रिय खेल हुने भनिएको छ।
यो विषयमा एन्फाका उपाध्यक्ष खतिवडाले असन्तुष्टि व्यक्त गरे।
‘दशरथ रंगशालामा फुटबल बाहेकका अरू कार्यक्रम गर्न दिदैनौं। ढुक्क हुनुहोस् साफ महिला च्याम्पियनसिपअघि त्यहाँ अरू कार्यक्रम हुँदैनन्,’ खतिवडाले भने।