जापानका स्टार फुटबल खेलाडी केइसुके होन्डा अहिले काठमाडौंमा छन्। उनी एसियाली फुटबल महासंघको तेस्रो डिभिजनको क्लब प्रतियोगिता एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटको खेल खेल्न नेपाल आएका हुन्।
तीन दिनअघि नेपाल आइपुगेका आक्रमक मिडफिल्डर होन्डा भुटानको पारो एफसीसँग यसै सिजन आबद्ध भएका थिए। भुटानी क्लबमा आबद्ध भएका सबैभन्दा ठूला स्टार होन्डा संयोगले नेपाल पनि आइपुगे। च्यालेन्ज कपको प्रारम्भिक छनोटमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग खेल्न होन्डा नेपाल आएका हुन्।
चर्च ब्वाइज र पारो एफसीबीच प्रारम्भिक चरणको खेलमा मंगलबार साँझ ६ बजे दशरथ रंशगालामा प्रतिस्पर्धा हुँदैछ। यो खेलको विजेता कपको समूह चरणमा पुग्नेछ।
नेपाल आएपछि पारो एफसीले भद्रकालीस्थित आर्मीको मैदान र दशरथ रंथशालामा प्रशिक्षण गरेको छ। तर मैदानको अवस्थालाई लिएर भुटानी क्लब सन्तुष्ट भने छैन। पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्मा मैदानको विषयमा असन्तुष्टि व्यक्त गरेका हुन्।
‘नेपालमा आएर खेल्न पाउँदा धेरै खुसी लागेको छ। तर हामीले मैदानको अवस्था ठिक पाउन सकेनौं। पहिलो दिन पनि मैदानका कारण प्रशिक्षणमा ढिलाइ भयो,’ उनले सोमबार एन्फा कम्प्लेक्समा प्रि-म्याच कन्फरेन्समा भने।
भुटानी टोलीका सबैभन्दा अनुभवी तथा स्टार खेलाडी होन्डा पनि नेपालको मैदानलाई लिएर सन्तुष्ट नभएको प्रशिक्षक शर्माले बताए। ‘होन्डाले नेपालको मैदानलाई आफ्नो करिअरको अहिलेसम्कै खराब मैदान भन्नु भएको छ,’ प्रशिक्षक शर्माले होन्डाको भनाइ उधृत गर्दै भने।
उनले नेपालको चर्च ब्वाइजविरुद्धको खेलमा पहिलो चुनौती नेपालको मौसम र दोस्रो चुनौती नेपालको मैदान भएको पनि बताए। प्रशिक्षक शर्माले टोलीको नतिजामा अभ्यास/प्रशिक्षणले मात्र नपुग्ने बताउँदै खेलाडीको सुविधाका लागि पनि सोच्न पर्ने बताए। 'हामी सकेसम्म खेलाडीलाई खुसी पार्ने कोशिस गरिरहेका छौं,' उनले भने।
त्यसो त होन्डाले आर्मी र दशरथ रंगशालाको मैदानको विषयमा व्यक्त गरेको भनाइ अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। उनी आर्मी मैदान पुग्दा त्यहाँ घाँस काटिरहेको भिडिओमा देख्न सकिन्छ। त्यसपछि होन्डाले मैदानको विषयमा जापानी भाषामा टिप्पणी गरेका थिए। यस्तै अर्को भिडिओमा उनले दशरथ रंगशालामा प्रशिक्षण गर्न पाउँदा राम्रो लागेको तर आफूले यसअघि खेलेका मैदानभन्दा राम्रो नभएको बताए।
दशरथ रंगशालाले केही दिनअघि मात्र एसियाली फुटबल महासंघबाट अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। मैदानको अवस्था खराब भएपछि गत चैतमा अन्तर्राष्ट्रिय मान्यता गुमेको थियो। फुटबल बाहेक अन्य खेलका गतिविधि हुनुका साथै खेलबाहेकका समारोह हुँदा मैदानको अवस्था नाजुक बनेको थियो।
मैदानको अवस्था खराब भएपछि नेपालले विश्वकप/एसिया कप छनोटका दुई वटा होम म्याच गुमाएको थियो। बहराइविरुद्धको खेल उसैको मैदानमा खेलेको नेपालले युएईसँगको खेल साउदी अरेबियामा खेलेको थियो। दशरथ रंशगालाको मैदानको अवस्था र सुरक्षाको विषयमा यसअघि पनि एएफसीले पटक-पटक सचेत गराएको थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय स्टार होन्डाले नै प्रश्न उठाएपछि रंगशालाको मैदानको अवस्था सतहमा आएको हो।
होन्डाले जापानका लागि ९८ खेल खेल्दै ३८ गोल गरेका थिए। सन् २०१८ सम्म जापानका लागि खेलेका होन्डा अहिले सक्रिय खेल खेलिरहेका खेलाडी भने होइनन्। २०१८ देखि २०२३ मा कम्बोडियाको प्रशिक्षक रहेका होन्डासँग युरोपको लिग खेलेको अनुभव छ। उनले रसियाको सिएसकेए मस्कोबाट २०१० देखि २०१३ सम्म तथा इटालीको एसी मिलानबाट २०१४ देखि २०१७ मा खेलेका थिए। त्यसपछि पनि मेक्सिकन, अस्ट्रेलियन,डच, पोर्चुगिज, ब्राजिलियन, अजरबैजानको क्लब हुँदै सन् २०२१ मा उनले लुथानियाको क्लबबाट खेलेका थिए।
होन्डाले जापानका लागि सन् २०१० देखि २०१८ सम्मका तीन वटा विश्वकप खेलेका थिए।
भुटानी टोलीमा होन्डासँगै ११ जना विदेशी खेलाडी छन्। टोलीमा होन्डाबाहेक ४ जना जापानी खेलाडी छन्। यस्तै सर्विया र घानाका तीन तीन जना खेलाडी टोलीमा आबद्ध छन्। आधा विदेशी खेलाडीलाई लिएर काठमाडौं आएको पारोले नेपाली टोली चर्च ब्वाइजलाई कडा चुनौती दिने पक्का छ।
नेपाली टोलीमा भने तीन जना मात्र विदेशी खेलाडी छन्। चर्च ब्वाइजमा डिफेन्डर ओमोलाजा करिम, मिडफिल्डर पिटर बन्डा र फरवार्ड मोसेस ट्वाम विदेशी खेलाडीको रुपमा छन्। तर दीप कार्की, छिरिङ लामा, सनिस श्रेष्ठ, एरिक विष्ट, अनन्त तामाङ, रोहन कार्की, लकेन लिम्बु, अन्जन विष्ट, आयुष घलान लगायतका राष्ट्रिय टोलीको अनुभव भएका खेलाडीले टोली बलियो भएको प्रशिक्षक बालगोपाल महर्जनले बताए।
महर्जनले तीन साता तयारी गरेको तथा टोली जितका लागि अघि बढ्ने भनाइ राखे। साथै भुटानी टोलीमा विदेशी खेलाडीको बाहुल्यता भए पनि चर्च ब्वाइजका खेलाडीहरुले लामो समय सँगै खेलेकाले आत्मविश्वास रहेको उनको भनाइ छ।
चर्च व्वाइजले विगत लामो समयदेखि खेल खेल्न भने पाएको छैन। त्यसैले उसले अभ्यासका क्रममा त्रिभुवन आर्मी क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो। यस्तै दशरथ रंगशालामा लामो समय खेल्न नपाए पनि मैदानले आफूहरुलाई कुनै असर गर्ने कप्तान अनन्त तामाङको भनाइ छ।
चर्च ब्वाइज टोली
गोलकिपरः दीप कार्की, टिकेन्द्र थापा, रेम्बो चौधरी
डिफेन्डरः छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करिम, सौभाग्य राई, अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ
मिडफिल्डरः एरिक विष्ट, पिटर बन्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष जर्घा
फरवार्डः अन्जन विष्ट, मोसेस ग्याबाह ट्वाम, निरज चौधरी, आयुष घलान, सञ्जीव विष्ट, आदित्य शाक्य