अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी खर्च नदिएपछि असन्तुष्ट बनेका १० वटा ए डिभिजन क्लबले विरोधका कार्यक्रम जारी राख्ने भएका छन्।
फ्रेन्ड्स क्लबको कुपन्डोलस्थित भवनमा आज बसेको बैठकले तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी र म्यान अफ दि म्याचको रकम एन्फाले उपलब्ध नगराएकाले जेठ १९ देखि रकम उपलब्ध नगराउन्जेल विरोध स्वरुप सबै खेलाडी तथा पदाधिकारीले खेलका दौरान कालो पट्टी लगाउने निर्णय गरेको छ।
यस्तै सहिद स्मारक ए डिभिजन लिगको खेल चलिरहेको अवस्थामा पनि साँझको लागि खेलाडीलाई प्रशिक्षणमा बोलाएको भन्दै लिग समाप्त भएपछि मात्र राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने पनि १० क्लबले निर्णय गरेका छन्। ए डिभिजन लिग जेठ २७ सकिनेछ।
आगामी महिना भारतमा हुने साफ च्याम्पियनसिपका लागि यसअघि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए। टिम घोषणा गरेसँगै अभ्यासका लागि खेलाडीलाई साँझको बेला बोलाइएको हो।
भारतमा असार ६ गतेदेखि हुने च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ। अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
यो निर्णय गर्नेमा फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी, खुमलटार, सातदोबाटो, मछिन्द्र क्लब, चर्च ब्वाइज क्लब र थ्रीस्टार क्लब छन्। तीन विभागीय टिमबाहेक जावलाखेल क्लब मात्र बैठकमा उपस्थित थिएन।