सन् २०२१ जुलाई दोस्रो साता।
मनिष तिम्सिनालाई ह्वाट्सएपमा एउटा कल आयो। त्यो कल फुटबल प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको थियो। उनलाई कल गर्ने भिन्सेन्जो तिनै प्रशिक्षक थिए जसले त्यतिखेर गोकुलम फुटबल क्लब केरलालाई भारतको प्रतिष्ठित आइलिग विजेता बनाएका थिए।
'मलाई तिम्रो 'फुटबलिङ नलेज,' 'गोलकिपिङ नलेज’ एकदमै मनपर्यो,' इटालीका नागरिक भिन्सेन्जोले मनिषलाई भने ‘हामी यस्तै गोलकिपिङ प्रशिक्षकको खोजीमा छौं। तिम्रो इच्छा के छ? गोकुलमसँग जोडिएर आइलिगमा आउने हो? हो भने म क्लबसँग कुरा गर्छु, मिलेर काम गरौं।’
दक्षिण एसियाकै प्रतिष्ठितमध्येको एउटा मुख्य लिगमा जोडिने निम्तो उनका लागि जति अनपेक्षित थियो, त्यो भन्दा बढी उत्साह सञ्चार गराउने ‘अफर’ थियो। गोलकिपिङ प्रशिक्षणलाई करिअर बनाउन लागिपरेका मनिषका लागि उक्त प्रस्ताव एउटा सपना साकार हुनेक्रमको सुरूआती क्षण थियो।
त्यसो त हाल नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका मुख्य प्रशिक्षक रहेका भिन्सेन्जोसँग त्यसबेलासम्म उनको चिनजान ‘भर्चुअल’ मात्रै थियो। न उनको खेलकौशल इटालियन प्रशिक्षकले देखेका थिए, न उनी फुटबलको ‘लाइमलाइट’मै थिए। नेपालमै पनि लामो समय फुटबल खेलेका मनिष चिनिएका र चर्चामा आएका खेलाडी भने थिएनन्।
कोरोना कहरले विश्वव्यापी लकडाउन निम्त्याएर घरैमा कैद भएका बेला मनिषले इन्टरनेटमार्फत विश्वका विभिन्न मुलुकका फुटबल खेलाडी तथा प्रशिक्षकहरुसँग संवाद थालेका थिए। त्यहीबेला भिन्सेन्जोसँग पनि कुराकानीको ढोका खुलेको थियो। भिन्सेन्जोसँगको त्यही भर्चुअल कुराकानी उनलाई चर्चित भारतीय लिगसम्म डोर्याउने आधार बन्यो।
उनी त्यसबेला अखिल नेपाल फुटबल संघ (एन्फा) को धरानस्थित एकेडेमीमा १३ वर्ष मुनिका खेलाडीहरूको गोलकिपिङ प्रशिक्षकका रूपमा कार्यरत थिए। एन्फाको युथ डेभलपमेन्ट प्रोग्राममार्फत उनी अनुबन्धित थिए। उनको समयवाधि बाँकी नै थियो।
उनले भिन्सेन्जोलाई उत्साही हुँदै जवाफ दिए ‘म आउन त इच्छुक छु। तर, मैले एन्फासँग पहिले कुरा गर्नुपर्छ। किनभने, मेरो अनुबन्धको अवधि बाँकी नै छ।’
‘ठिक छ, त्यसो भए म यताबाट क्लबलाई प्रस्ताव पत्र पठाउन लगाउँछु, तिमी एन्फासँग कुरा गर,' भिन्सेन्जोले भने ‘म तिम्रो सकारात्मक जवाफको प्रतिक्षामा हुनेछु।’
खेल जीवनको सुरुआततिरै भारतीय राज्य आसामको स्टेट लिग खेल्दाताका नै मनिषलाई भारतीय लिगले आकर्षित गरेको थियो। भारतीय लिगमा व्यावसायिक फुटबलरका रूपमा जोडिन पाए हुने भन्ने लोभ पहिल्यैदेखि थियो। सक्रिय खेल जीवन त्यागेर प्रशिक्षणतिर लागेपछि नै सही उनको एउटा सपना साकार हुने क्रममा थियो।
नभन्दै उनलाई गोकुलम एफसीले ‘अफर लेटर’ पठायो।
एकातिर एन्फाले दिएको जिम्मेवारी, अर्कोतिर व्यावसायिक जीवनमा फड्को मार्ने अवसर।
अलमलकै बीचमा उनले तत्कालीन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई आफूलाई आएको प्रस्ताव सुनाए। र, आफू जान इच्छुक रहेको पनि बताए। अध्यक्ष शेर्पाले केही नसोची हौसला दिए।
‘तिमी जानुपर्छ। नेपाली प्रशिक्षकका लागि यो ज्यादै ठूलो अवसर हो। नेपाली फुटबलका लागि पनि गौरवको कुरा हो’, अध्यक्ष शेर्पाले यसो भनेपछि मनिषलाई पनि ढुक्क अनुभव भयो। उनलाई एन्फाले ‘नो अबजेक्सन लेटर’ (एनओसी) दिँदै रिलिज गरिदिएर केरला जाने ढोका सजिलै खोलिदियो।
त्यो कुरा सुनाउँदा केरलाका मुख्य प्रशिक्षक भिन्सेन्जो पनि खुसी भए। लगत्तै क्लबले उनलाई इमेलमा सम्झौता पत्र पठायो। नेपालबाटै डिजिटल हस्ताक्षर गरेर पठाउँदै मनिष औपचारिक रूपमा आइलिगमा जोडिए। आइलिगको २०२१–०२२ सिजनका लागि उनी गोकुलम एफसीको गोलकिपर प्रशिक्षकमा नियुक्त भए।
'मुख्य प्रशिक्षक भिन्सेन्जोसँग ह्वाट्सएपमा भइरहने निरन्तर छलफल र त्यसक्रममा उहाँसँग मैले गरेका कुराकानीहरूकै बलमा क्लबले मलाई पहिलो अवसर दिएको थियो,' अहिले आइलिगको सिजन सकाएर बिदामा घर आएका मनिषले सेतोपाटीसँग भने ‘छलफलमा मैले भनेका कुराहरुमा उहाँको ध्यान र चासो रहेछ। मेरो फुटबल ज्ञानमा उहाँले विश्वास गरेर प्रस्ताव गर्नुभएको रहेछ।’
यसरी भिन्सेन्जोसँग कुराकानी भएको लगभग महिना दिन अनि प्रस्ताव आएको दुई सातापछि सन् २०२१ अगष्ट ३ मा उनी केरलाका लागि काठमाडौंबाट विमान चढे। केरला पुगेर अन्य प्रक्रियाहरु पूरा गरेपछि उनले आइलिगको डिफेन्डिङ च्याम्पियन टोलीसँग काम थाले। उनी जोडिएको वर्ष पनि गोकुलमले लगातार दोस्रो वर्ष आइलिगको उपाधि जित्यो।
‘डेब्यु सिजनमै लिग विजेता हुन पाउँदा गौरव लाग्यो,' उनले सुनाए ‘त्यो सिजनमा सात खेलमा हाम्रो पोष्टमा विपक्षीले गोल गर्न सकेका थिएनन्।’
यसरी विराटनगर–९ ट्राफिक चोकका स्थायी बासिन्दा ३५ वर्षीय मनिषले आफूलाई दक्षिण एसियाकै प्रतिष्ठित फुटबल लिगमा पुर्याएनन् मात्रै, टिमलाई विजेता बनाएर आफूलाई प्रमाणित पनि गरे। उनको त्यही कौशलबाट प्रभावित भएरै भारतीय लिगको शीर्ष टोली केरलाले उनलाई अर्को सिजनमा पनि उही जिम्मेवारीमा निरन्तरता दियो। यसपटक भने उनको टिमले लिगको तेस्रो स्थानमा चित्त बुझायो।
भारतीय लिगमा खेलाडीको रूपमै प्रवेश गर्ने इच्छा पूरा नभए पनि प्रशिक्षकका रूपमा जोडिने अवसर पाएका मनिष यसलाई ‘करिअरको सुरुआत’ मान्छन्।
‘गर्नुपर्ने काम धेरै छ,' उनले भने ‘यात्रा बल्ल सुरू भएको छ। यसमा मैले आफूलाई दिनहुँ खरो उतार्नुपर्छ। आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयासमा म निरन्तर लागिरहेको छु।’
मनिषको फुटबल यात्रा उनकै जन्मथलो विराटनगरबाट सुरु भएको थियो। १२–१३ वर्षको हुँदा स्थानीय मोतिराम स्पोर्टिङ क्लबमा उनी जोडिएका थिए, जहाँ उनका सिनियर थिए राष्ट्रिय टिमका पूर्व कप्तान सागर थापा, राष्ट्रिय टिममा लामो समय खेलेका भोला सिलवालहरू।
‘हामीलाई त्यसबेला कुमार प्रधान गुरूले सिकाउनुहुन्थ्यो’, मनिषले ती दिन सम्झिए ‘यसरी त्यहीँ खेल्दाखेल्दै मैले एकैपटक पूर्वाञ्चल ११ बाट खेल जीवनको औपचारिक सुरूआत गरेँ।’
२०५९–६० मा उनले पहिलोपटक पूर्वाञ्चल ११ बाट पहिलो रोजाईको गोलकिपरको रुपमा भारतको आसाममा खेले। आसामको बोडो आन्दोलनका पहिलो सहिद सुजित नर्झरीको स्मृतिमा आयोजना भएको सुजित नर्झरी ट्रफीमा पूर्वाञ्चल सेमिफाइनलमा कोलकाताको जर्ज टेलिग्राफसँग पराजित भयो।
आसाममा मनिषले देखाएको खेल कौशल भारतीय टोलीका प्रशिक्षकहरुको नजरमा परेकै थियो। उनलाई त्यही वर्ष सिलिगुढीको उल्का एफसीले सिलिगुढी लिगका लागि अनुबन्धित गर्यो। सिलिगुढीमा एक सिजन बिताएपछि उनी बल्ल नेपाली लिगमा जोडिन आइपुगेका थिए।
‘त्यसपछि सामाजिक युवा क्लबबाट सी डिभिजन, पुल्चोक क्लबबाट बी डिभिजन र २०६४ मा हिमालयन शेर्पाबाट बी डिभिजन लिग खेलेँ,' उनले भने ‘अनि २०६५ मा ए डिभिजन क्लब रानी पोखरी कर्नर टिम (आरसिटी) मा जोडिएँ।’ स्वयम्भू एफसी, बाँसबारी क्लबबाट बाटसमेत खेलेका उनी झापाली साथी बाबुलाल हस्दासँगै फेरि आसाम पुगे।
‘नेपालमा भन्दा आकर्षक पारिश्रमिक र अवसरले लोभ्याएर हामी आसामको सनराइज एथ्लेटिक क्लबमा पुग्यौं,' उनले भने ‘यो २०६६ तिरको कुरा हो। मैले त्यहाँको स्टेट लिगमा पूरा सिजन पहिलो रोजाईको गोलकिपर भएर बिताएँ। हाम्रो टोली चौथो भयो।’
नेपालमा लिग अनियमित हुने भए पनि ठाउँ–ठाउँमा हुने नकआउट प्रतियोगिताहरू फाट्टफुट्ट हुने गर्थे। त्यहीबेला मोरङको मंगलबारेमा एउटा नकआउट प्रतियोगितामा उनी मुनाल क्लब चन्द्रगढीबाट खेल्दैथिए। झापाकै सैनिकविरुद्धको फाइनल खेलमा उनको टिम मुनाल २–० ले अघि थियो। त्यहीबीचमा उनी गम्भीर घाइते भए।
‘म र सैनिकबाट खेलेका अफ्रिकी खेलाडी क्याष्ट्रो मुम्बारा जुध्दा मैले बायाँ खुट्टाको ‘नि’ मा चोट बोकेँ,' उनले सम्झिए ‘त्यसपछि सैनिकले लगातार दुई गोल फर्काएर टाइ–ब्रेकरमा उपाधि जित्यो।’
त्यो दिन चोट बोकेकै कारण उनले आसामी क्लबले फेरि बोलाउँदा जान पाएनन्। नेपालकै ए डिभिजन लिग खेल्ने सम्भावना पनि टाढिँदै गयो।
‘आफूलाई बल्लबल्ल रिकभर गरेर २०६८ मा ब्रिगेड ब्वाइजबाट बी डिभिजन खेलेँ,' उनले भने ‘त्यसपछि केही नकआउट प्रतियोगिता पनि खेलेँ। तर, चोट निरन्तर बल्झिरह्यो।’ चिकित्सकले चोट लागेको निको पार्न शल्यक्रिया गर्न सुझाव दिए। ‘त्यसबेला पैसा अभावले अप्रेसन गरिनँ’, उनले भने ‘मैले अहिलेसम्म पनि अप्रेसन चाहिँ गरेको छैन।’ खुट्टाको चोटले निरन्तर दुः ख दिन थालेपछि २०६८ बाट उनले आफ्नो खेल जीवन टुंग्याए।
सक्रिय खेल जीवन टुंग्याए पनि उनको फुटबलमोह उत्कर्षमा थियो। त्यसैले उनी प्रशिक्षणतिर लम्किए। ‘त्यसपछि मैले एएफसीको सी लाइसेन्स गरेँ, सन् २०१७ मा बी लाइसेन्स गरेँ।’
सन् २०१८ मा यु–१५ राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षक भएर जिम्मेवारी सम्हालेका उनले २०१९ मा गोलकिपिङ लेभल वन र २०२० मा एएफसी ए लाइसेन्स पूरा गरेका थिए।
मोरङ फुटबल क्लबमा सहायक प्रशिक्षक भएर काम गरिसकेका उनले सातौं राष्ट्रिय खेलकुदमा मोरङकै महिला टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाए। उक्त प्रतियोगितामा मोरङलाई क्षेत्रीय विजेता बनाएका उनले विभिन्न स्कुल कलेजमा फुटबल प्रशिक्षकका रुपमा पनि काम गरे। एन्फा वुमन लिग, तत्कालीन प्रदेश नम्बर ६ को ग्रासरुट हेड भएर काम गरिसकेका उनी २०२१–२२ को सिजनदेखि हिरो आइलिगमा जोडिए।
यसपटक पनि आउँदो जुलाईदेखि आइलिगको अर्को सिजन सुरू हुँदैछ। अहिले आइलिगका विभिन्न क्लबबाट प्रस्ताव आइरहेको उनले बताए।
‘अहिले त बिदाको समयमा छु, यहीबेला पनि लिगका विभिन्न क्लबहरुबाट प्रस्ताव आइरहेको छ’, उनले भने ‘इन्डियन सुपर लिग (आइएसएल) बाट पनि अफरहरू आइरहेका छन्। के गर्ने भन्ने टुंगोमा पुगेको छैन।’
गोलकिपिङमा लेभल २ पास गरिसकेका उनले मलेशियाबाट लेभल ३ पनि पढेर पूरा गरेका छन्। भारत कोलकाताको एनआइएसमा छात्रवृत्तिमासमेत पढिसकेका उनी नेपाली टिमहरुबाट पनि प्रस्ताव आइरहेको बताउँछन्। ‘नेपालका पनि इतिहास बोकेका, राम्रो टिमहरुबाट प्रस्ताव आइरहेको छ’, उनले भने ‘म टुंगोमा भने पुगेको छैन।’
नेपालको ग्रासरुटबाट फुटबल यात्रा सुरु गरेर आइलिगसम्म पुगेका मनिषको अनुभवमा फुटबलमा सबैभन्दा ठूलो कुरा लगानी हो। खेलाडी र टिम तयार पार्न गरिने लगानीले नै मैदानमा पनि राम्रो नतिजा दिने उनको भनाइ छ।
‘मुख्यतः हाम्रो फुटबल कुन स्तरमा छ भन्ने कुराको एक मात्र प्रमाण राष्ट्रिय टोलीको प्रदर्शन रहेछ’, उनले भने ‘देश बाहिर हाम्रो राष्ट्रिय टिमको प्रदर्शनले सबैभन्दा धेरै महत्व राख्दोरहेछ। त्यसैले राष्ट्रिय टिम बलियो बनाउन जरुरी छ।’
फुटबलमा खेलाडी र टिमलाई कसरी तयार पार्दै लगिन्छ भन्ने कुराले सबैभन्दा बढी अर्थ राख्ने उल्लेख गर्दै उनले भने ‘भारतीय कप्तान सुनिल क्षेत्री ३९ वर्षमा पनि उत्तिकै स्तरमा खेलिरहेका छन्। हामीकहाँ २७–२८ वर्षपछि खेल जीवन ओरालो लाग्न थाल्छ। हामीले खेलाडी र टिम तयारीमा पर्याप्त लगानी गर्नुपर्ने खाँचो छ।’
नेपाली फुटबल क्षेत्रका हरेक सरोकारवालाले ‘फुटबलप्रति इमानदारी देखाए पुग्ने’ बताउँदै उनले भने ‘मैले आइलिगमा प्रशिक्षकका रुपमा अवसर पाउँदा नेपाली भएर पनि गर्न सकिनेरहेछ भन्ने आत्मविश्वास आएको थियो। हाम्रा खेलाडीहरुले पनि आइलिगमा अवसर पाएर प्रमाणित गरिरहेका छन्। अझै धेरै निखार ल्याउन फुटबल लिग नियमित गर्ने, तल्लो तहबाटै फुटबल तयारीमा लाग्ने गर्नसक्दा परिणाम राम्रो आउँछ भन्ने लाग्छ।’
मनिषले सुरुआततिर फुटबल खेलेको विराटनगरस्थित अर्को क्लब सम्राट स्पोर्टिङ क्लबका अध्यक्षसमेत रहेका पूर्व रेफ्री किरण गिरी मनिषको सफलतालाई ‘लोभलाग्दो’ भनेर व्याख्या गर्छन्। ‘विदेशमा गएर आफूलाई अब्बल प्रशिक्षकका रुपमा प्रमाणित गर्नु मनिषको ठूलो सफलता हो,' गिरीले भने ‘नेपालका अरु प्रशिक्षकले यस्तो सफलता पाएको याद छैन। अन्तर्राष्ट्रिय मैदान र खेलाडीहरू माझमा रहेर उनले सिकेको ज्ञान नेपालमा उपयोग गर्न सकियो भने त्यो नेपाली फुटबलका लागि लाभदायी सावित हुनसक्छ।’
गोलपिकर प्रशिक्षककै रूपमा करिअरलाई अघि बढाइरहने दृढता बोकेका मनिषलाई चाहिँ नेपाली राष्ट्रिय फुटबल टोलीमा जोडिने रहर छ कि छैन ?
प्रश्न सुनेपछि मज्जाले हाँसेका उनले भने ‘देशको कुन सन्तानको रहर नहोला देश सेवा गर्ने? यदि त्यस्तो अवसर पाएँ भनेँ सेवा गर्न र आफूले जाने–सिकेको ज्ञान बाँड्न सदा तयार रहनेछु।’