नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी फेरि अर्को विवादमा तानिएका छन्।
अलमुताइरीले आगामी महिना बंगलादेशविरूद्ध खेल्न भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि कुवेतबाटै खेलाडीको नामावली पठाएको समाचार प्रकासित भएपछि अलमुताइरी विवादमा तानिएका हुन्।
अलमुताइरीले यसअघि विश्वकप छनोट खेलेको टिममा ६ जनाको नाम थपेर एन्फालाई पत्र पठाएको सार्वजनिक भएको थियो। अलमुताइरीले अन्जन विष्ट, तेज तामाङ, दिनेस हेम्जन, जगजित श्रेष्ठ, प्रशान्त अवस्थी र मनीष मगरको नाम थापेर एन्फालाई पठाइएको बताइएको छ।
यसअघि एन्फाको केन्द्रीय समिति बैठकले प्रशिक्षक अलमुताइरीसँगको असमझदारीका कारण राष्ट्रिय टिमबाट हटाइएका १० खेलाडीलाई राष्ट्रिय टिममा बोलाउने निर्णय गरेको थियो।
तर एन्फाको निर्णयबिपरित अलमुताइरीले राष्ट्रिय टिममा १० खेलाडीको नाम समेटेका थिएनन् भने एन्फाले खेलाडीसँगको विवादको विषयमा सोधेको प्रश्नमा कुनै जवाफ दिएका थिएनन्।
यसअघि एन्फाको केन्द्रीय समिति बैठकले अलमुताइरीलाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न एन्फा सचिवालयलाई जिम्मेवारी दिएको थियो। त्यहीँअनुसार एन्फाले अलमुताइरीलाई पत्राचार गरेको पनि सार्वजनिक भएको थियो।
राष्ट्रिय टिममा ६ खेलाडी समेटेको र अलमुताइरीलाई एन्फा महासचिव किरण राईले पत्राचार गरेको समाचार सार्वजनिक भएपछि अलमुताइरीले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत विज्ञप्ती निकाल्दै दुवै दाबीको खण्डन गरेका छन्।
राष्ट्रिय टिमका लागि ६ खेलाडी थप गर्दै नाम दिएको विषयमा भने उनले स्पष्ट पारेका छैनन्। बरु समाचारको खण्डन गर्दै वकिलसँग छलफल गरेर एन्फाविरूद्ध फिफामा जाने भन्दै धम्कीपूर्ण विज्ञप्ति निकालेका छन्।
अलमुताइरीले आफूलाई एन्फाबाट यसअघि कुनै पत्र नआएकोमा मंगलबार अपरान्ह मात्र पत्र आएको बताएका छन्।
‘मलाई एन्फाले स्पष्टीकरण माग गरेको छ। जवाफ दिन समय तोकिएको छैन। जेनेभामा रहेका मेरा वकिलसँग सल्लाह गरेको छु। प्रशिक्षकबारेको फिफाको नियम एन्फाले पनि पालना गर्नुपर्छ। मैले छानबिन समितिको वैधानिकतामाथि प्रश्न उठाएको थिए। त्यतिबेला मौन बसे, पत्रको जवाफ वकिलबाट सल्लाह गरेपछि पठाउने छु,' उनको भनाइ छ।
हाल विदामा रहेका अलमुताइरी आफ्नो देश कुवेतमा छन्। नेपालले एएफसी एसिया कपको छनोट कुवेतमा खेलेपछि उनी उपाचारका लागि उतै बसेका थिए।
एएफसी एसिया कप छनोटअघि अलमुताइरी र राष्ट्रिय टिमका १० जना खेलाडीबीच विवाद भएको थियो। विवादका कारण उनले खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिएपछि खेलाडी र प्रशिक्षक विवादले उग्ररुप लिएको थियो।
त्यसपछि एन्फाले गठन गरेको कार्यदलले विवादमा आइरहने अलमुताइरीको विकल्प खोज्न एन्फालाई सिफारिस गरेको थियो।
एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ। उनलाई खान र बस्न एन्फाले व्यवस्था गरे पनि तलब भने कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ। कतारले सहयोगस्वरुप प्रो-लाइसेन्सप्राप्त अलमुताइरीलाई २०७७ को चैतमा नेपाल पठाएको थियो।
प्रशिक्षक बनेको तेस्रो महिना देखि नै उनी विवादमा आउन थालेका थिए। सुरुमा उनले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिने भन्दै फेसबुकमा लेखेका थिए। तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ हाल एन्फाको अध्यक्षमा निर्वाचित भएका छन्। त्यतिबेलाका अध्यक्ष कर्माछिरिङ शेर्पासँग नजिक मानिएका अलमुताइरीले उक्साहटमा उक्त स्टाटस लेखेको आरोप लागेका थियो।
यो विवादको विषयमा गठिन छानविन समितले पनि अलमुताइरीकै दोष देखाएको थियो।
गत महिना भएको एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षमा कर्माछिरिङलाई पराजित गर्दै नेम्बाङ निर्वाचित भए लगत्तै अलमुताइरीले नेपाल नफर्कने संकेत गर्दै इन्स्टाग्रममा स्टोरी राखेका थिए। तर केहीबेरमा नेपाली समर्थकलाई धन्यवाद दिएको उक्त स्टोरी उनले मेटाएका थिए।
एक सातापछि भने उनले फेसबुक कमेन्टमा एक समर्थकलाई आफ्नो सम्झौता २०२४ सम्म भएको र छिट्टै नेपाल फर्कने भन्दै प्रतिक्रिया दिएका थिए। लगत्तै उनले फेसबुकको स्टोरीमा आफ्नो लक्ष्य विश्वकप २०२६ को छनोट, एसिया कप २०२७ को छनोट र साफ च्याम्पियनसिप २०२३ भएको उल्लेख थिए।
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटअघि प्रशिक्षक अलमुताइरी र सिनियर खेलाडबीच विवाद चुलिदा नियमित कप्तान किरणकुमार लिम्बूसहित ११ खेलाडी टिममा समेटिएनन्। विवादले नेपाली टिमको तयारीलाई समेत असर गरेको थियो। अफगानिस्तानसँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल अन्तिम समयमा स्थगित भयो।
एसियन कपका लागि प्रशिक्षण दौरान प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।
प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो। त्यसपछि सबै खेलाडीको प्रतिनिधित्व गर्दै रोहितले बोलेको भन्दै खेलाडीहरूले अलमुताइरीसँग कुरा गरेका थिए।
त्यसपछि अलमुताइरीले ‘तिमीहरू पनि घर जान सक्छौं’ भनेपछि खेलाडीहरू घर फर्किएका थिए।
सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेपछि प्रशिक्षक अलमुताइरीले युवा खेलाडी समेटेका थिए। छनोटका लागि कुवेत प्रस्थान गर्नुअघि टिमका ११ जना सिनियर खेलाडीलाई टिम बाहिर राखिएको थियो।
खेलाडी र प्रशिक्षकबीच विवाद बढेपछि एन्फाले छानबिन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले एसियन कप छनोटपछि अलमुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो।
कार्यदलले अलमुताइरीले एकतर्फी र चेन अफ कमाण्डभन्दा बाहिर गएर काम गरेको भन्दै प्रशिक्षकले जिम्मेवारी पूरा गर्दा चेन अफ कमाण्डको पालना गर्न सुझाव दिएको थियो।
‘मुख्य प्रशिक्षकको स्वास्थ्य अवस्थाका कारण बारम्बार तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद तथा सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणी जस्ता क्रियाकलापले राष्ट्रिय टोलीमा स्वस्थ्य वातावरण नबनेको देखिन्छ। यस्तो अवस्थामा भविष्यमा अरू समस्या उब्जने प्रवल सम्भावना समेत नकार्न सकिदैन। तसर्थ एसिया कप छनोटपछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमती कायम गरी मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ,’ कार्यदलको सुझाव थियो।
प्रशिक्षक नियुक्त लगत्तै विवादित
२०७८ साउन १० गते अलमुताइरीले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण नेपाली फुटबल तरंगित बनेको थियो। सो दिन एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई मुछ्दै उनले आफू राजीनामा दिन एन्फा कार्यालय गइरहेको लेखेका थिए।
सो स्टाटसपछि उनलाई राजीनामा नदिन भन्दै हजारौंले प्रतिक्रिया दिएका थिए। नेपाली फुटबलमा राजनीति बढी भएको र उनलाई काम गर्न नदिएको अधिकांशको भनाइ थियो। कतिपयले वरिष्ठ उपाध्यक्षलाई गम्भीर आरोपसमेत लगाएका थिए।
उनले सामाजिक सञ्जालमा लेखे पनि राजीनामा भने दिएनन्। बरू उनको फेसबुक स्टाटसका कारण नेम्वाङले आफ्नो फेसबुक खाता निष्क्रिय पार्न बाध्य भए।
गत वर्षको असारमा तत्कालिन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको जन्मदिनमा अलमुताइरीले फेसबुकमार्फत् शुभकामना दिएका थिए।
सो पोस्टमा अलमुताइरीले शेर्पालाई ‘डियर ब्रदर’ भनेर सम्बोधन गरेका थिए। एन्फाका कतिपय पदाधिकारीले ‘डियर ब्रदर’ शब्द रूचाएनन्। सो पोस्टमा कतिपयले ‘एङ्ग्री रियाक्ट’ समेत गरेपछि अलमुताइरी रिसाएका थिए।
गत वर्षको साउन पहिलो साता नेपाली टिम एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्यास गरिरहेको थियो। सो अभ्यासका दौरान अलमुताइरी कम्लेक्स बाहिर निस्किएर धुम्रपान गरे। त्यस विषयमा त्यहाँ उपस्थित मेरोखेलका पत्रकारले प्रश्न गरेपछि पत्रकार र अलमुताइरबीच विवाद भयो।
त्यसपछि सो कुरा सामाजिक सञ्जालमा फैलियो। जसमध्ये मेरोखेलका पत्रकारको एक पोस्टमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले लाइक गरे भने उपाध्यक्ष कृष्ण थापाले ‘वेल डन’ भनेर लेखे। एन्फाका पदाधिकारीले पत्रकारको पोस्टमा लाइक गरेपछि अलमुताइरी झन् रिसाए। जुन कुरा अलमुताइरीले एन्फामा दर्ता गराएको निवदेनमा पनि उल्लेख छ।
सामाजिक सञ्जालमा आफ्नो विषयको कुरामा लाइक गरेपछि अलमुताइरीले नेम्बाङको नामै तोकेर ‘राजीनामा दिन्छु’ भन्दै लेखिदिए। जसका कारण फुटबलमा ठूलो विवाद सिर्जना भयो। वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफ्नो करिअर सिध्याउने मनासायले स्टाटस लेखेको आरोप लगाए। कतिले तत्कालिन एन्फा अध्यक्ष शेर्पालाई पनि मुछे।
फेसबुक पोस्टका कारण विवाद भएपछि एन्फाले छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयाई गुहार्यो। मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मा दियो।
त्यही बीचमा विवाद समाधानका लागि भन्दै नेम्वाङ र अलमुताइरीबीच भेट भयो। सो भेटमा अलमुताइरीले पत्रकारको पोस्टमा लाइक गरेकाले उक्त स्टाटस लेखेको बताएका थिए। त्यतिबेला विवाद समाधानका लागि दुबैले संयुक्त विज्ञप्ति निकाल्ने सहमति भएको थियो। तर अहिलेसम्म संयुक्त विज्ञप्ति निकालिएन।
गत वर्षको साउन तेस्रो सातादेखि काम सुरू गरेको छानबिन समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष नेम्वाङ, प्रशिक्षक अलमुताइरीसहित १४ जनासँग बयान लिएको थियो।
समितिको प्रतिवेदनले एन्फा विवादको मुख्य कारण ‘सामाजिक सञ्जालको अध्याधिक प्रयोग’ भनेको छ। यस्तै आचार संहिता नहुँदा पनि समस्या आएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले घुमाउरो रूपमा अलमुताइरीको दोष देखाएको थियो।
प्रतिवेदनको सुझाव र सिफारिसको दोस्रो नम्बर बुँदामा भनिएको छ- ‘कुवेती नागरिक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ। उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्नुपर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एवं भूमिकाका बारेमा प्रश्न उठाउने देखिदैँन।'
प्रतिवेदनको तेस्रो बुँदामा अलमुताइरीले विवादास्पद राजीनामासम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषदबाट निर्देशन दिनुपर्ने सुझाव दिएको थियो।
प्रतिवेदनले विवादास्पद पोस्ट हटाउन सिफारिस गरेको केहीबेरमै अलमुताइरीले फेसबुकमा अर्को पोस्ट गर्न भ्याइहाले। उनले प्रतिवेदनमा आफू असन्तुष्ट रहेको संकेत गर्दै लेखे -आई एम आउट... लेट पोलिटिस्क वर्क।
उक्त स्टाटसपछि कतिपयले अलमुताइरीले राजीनामा दिने अड्कल काटेका थिए। तर मानिसहरूको अड्कल मिलेन। उनी साफ च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टिमसँगै पोखरा पुगे।
भने नेपालसँगको अन्तिम खेल, गरे तीन वर्षको सम्झौता
२०७८ चैतमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका अलमुताइरीसँग एन्फाले गत कात्तिकमा थप तीन वर्षको सम्झौता गरेको थियो।
तत्कालिन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि अलमुताइरीले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेका थिए।
तर त्यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए।
फाइनलपछि भने उनले बोली फेरे। उनले दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए।
भारतसँग फाइनलमा नेपाल पराजित भएपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए।
अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न डेढ वर्षअघि पठाएको थियो।
नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने गरेको छ। एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।