अखिल नेपाल फुटबल संघ (एन्फा) मा आफ्नो नियुक्ति लिएर भइरहेको विवादप्रति गौरव थापाले ध्यानाकर्षण भएको बताएका छन्।
भ्रष्टाचारको आरोपमा फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाका जेठा छोरा गौरवलाई एन्फामा नियुक्त दिलाउने विषयमा एन्फा कार्यसमिति विभाजित भएको थियो।
गौरवले आफूले एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब नदिएको पनि दाबी गरेका छन्।
तर गणेश थापाले भने गौरवलाई एन्फामा नियुक्त दिलाउनका लागि आफू पक्षका एन्फा पदाधिकारीसँग लगातार छलफल गरेका थिए। थापासँग भेट गरेर गौरवलाई नियुक्त दिलाउने विषयमा छलफल गरेको एन्फाका एक पदाधिकारीले सेतोपाटीसँगको अनौपचारिक कुराकानीमा स्वीकार गरेका थिए।
गौरवले आफ्नो नियुक्तिको विषयमा एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईले फिफा र एएफसीसँग पटकपटक सम्पर्क गरेको समेत दाबी गरेका छन्।
‘वर्तमान अध्यक्ष र महासचिवले गत महिना फिफा र एएफसीमा पटकपटक सम्पर्क गरेर यो विषयमा स्पष्टता खोजेको मेरो जानकारीमा छ। उहाँहरु सबैलाई मेरो नियुक्तिमा फिफा र एएफसीलाई कुनै समस्या नरहेको प्रष्ट पारिइसकेको छ,’ गौरवले प्रेस विज्ञप्तिमार्फत दाबी गरेका छन्।
‘खासगरी महासचिवलाई त फोन, म्यासेज र प्रत्यक्ष भेटघाटको बेला पनि यो विषयमा प्रष्ट पारिइसकेको छ। महासचिव साफको बैठकका लागि बंगलादेश जाँदा एएफसीका केही अधिकारीहरुसँग भेट भएको थियो। त्यहाँ उहाँलाई यो विषयले कुनै फरक नपार्ने स्पष्ट जानकारी गराइएको थियो।’
यो पनि :- छोरालाई एन्फामा नियुक्ति दिलाउन गणेश थापाको कसरत
२०७२ को कात्तिकमा फिफाले एन्फाका पूर्वअध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध लगाउँदा उनका जेठा छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त केसमा मुछिएका थिए। एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो। त्यसपछि एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए।
पछि गौरवको खातामा आएको पैसा घुस भएको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएको थियो।
आफूले एएफसीबाट सन् २०१३ देखि २०१८ को बीचमा पटक-पटक एन्फामा काम गौरवको भनाइ छ।
‘सबभन्दा पछिलो पटक २०१७ मा श्री नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा काम गरेको थिए। त्यो समयमा मैले फिफा र एएफसीको म्याच कमिस्नरको काम पनि गरेको थिएँ,’ उनको भनाइ छ।
'कर्माछिरिङ शेर्पाले २०१८ मा चुनाव जित्दा पनि म एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पदमै थिएँ । निर्वाचनबाट आएको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई असहज हुन सक्ने ठानेर चुनावको भोलिपल्टै राजीनामा गरेको थिएँ। नयाँ नेतृत्वले म प्रति अगाध विश्वास देखाउनाका साथै एन्फा नछोड्न अनुरोध गरे पनि मेरो राजीनामा एन्फा प्रशासनमा आएको परिवर्तनलाई सहज बनाउनका लागि थियो। मैले एन्फामा काम गरेको समयमा कुनै समस्या आएको थियो? वा उनीहरुलेअहिले प्रस्तुत गरिरहेको दूर्भावनापूर्ण एजेन्डामा बल पुग्ने कुनै घटना भएको थियो?’
पूरा पढ्नुहोस् :-