नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा खराब प्रदर्शन गर्यो। समूह ‘ए’ मा परेको नेपालले आफूले खेलेका तीनै खेलमा हार बेहोर्यो।
कुवेतमा भएको छनोट अन्तर्गत समूहको पहिलो खेलमा युवा खेलाडीले भरिएको नेपाली टिमले जुझारू प्रदर्शन गर्यो। तर एसियाको बलियो मध्येकै जोर्डनविरूद्ध नेपाल २-० ले पराजित भयो।
दोस्रो खेलमा नेपालले घरेलु टिम कुवेतविरूद्ध ४-१ को हार बेहोर्यो। तेस्रो खेलमा भने नेपालले तीन वर्ष यताकै खराब खेल खेल्यो। नेपाल तेस्रो खेलमा इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भयो।
तीन खेलमा १३ गोल खाएको नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सहभागी २४ टिम मध्ये सबैभन्दा कमजोर ठहरियो।
खेलपछि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रतियोगितालाई सकारात्मक रूपमा लिने बताए।
‘हामीले धेरै सकारात्मक पक्षहरू पाएका छौं। कमजोरी पक्ष पनि रहे। आगामी सेप्टेम्बरमा हुने मैत्रीपूर्ण खेल अगाडि कमजोर पक्ष समाधान गर्न आवश्यक छ,’ अलमुताइरीले भने, ‘यसको सबै दोष मलाई दिनुस्, खेलाडीहरूलाई नदिनोस्।’
छनोटअघि प्रशिक्षक अलमुताइरी र सिनियर खेलाडबीच विवाद चुलिएको थियो। जसका कारण नियमित कप्तान किरणकुमार लिम्बूसहित ११ खेलाडी टिममा समेटिएनन्। विवादले नेपाली टिमको तयारीलाई समेत असर गर्यो। अफगानिस्तानसँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल अन्तिम समयमा स्थगित भयो।
एसियन कपका लागि प्रशिक्षण दौरान प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै खेलाडीलाई समर्थन गर्ने बताएका थिए।
प्रशिक्षण अलमुताइरीसँग होस्टलको सुविधाको विषयमा कुरा गर्दा सुरूमा रोहित चन्दलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाड्दै घर जान भनिएको थियो। त्यसपछि सबै खेलाडीको प्रतिनिधित्व गर्दै रोहितले बोलेको भन्दै खेलाडीहरूले अलमुताइरीसँग कुरा गरेका थिए।
त्यसपछि अलमुताइरीले ‘तिमीहरू पनि घर जान सक्छौं’ भनेपछि खेलाडीहरू घर फर्किएका थिए।
सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेपछि प्रशिक्षक अलमुताइरीले युवा खेलाडी समेटेका थिए। छनोटका लागि कुवेत प्रस्थान गर्नुअघि टिमका ११ जना सिनियर खेलाडीलाई टिम बाहिर राखिएको थियो।
खेलाडी र प्रशिक्षकबीच विवाद बढेपछि एन्फाले छानबिन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले एसियन कप छनोटपछि अलमुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो।
कतार फुटबल एसोसिएसनको सहयोगमा नेपालको प्रशिक्षक बनेका अलमुताइरी र एन्फाबीच सन् २०२४ सम्मका लागि सम्झौता छ।
कार्यदलले अलमुताइरीले एकतर्फी र चेन अफ कमाण्डभन्दा बाहिर गएर काम गरेको भन्दै प्रशिक्षकले जिम्मेवारी पूरा गर्दा चेन अफ कमाण्डको पालना गर्न सुझाव दिएको थियो।
‘मुख्य प्रशिक्षकको स्वास्थ्य अवस्थाका कारण बारम्बार तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद तथा सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणी जस्ता क्रियाकलापले राष्ट्रिय टोलीमा स्वस्थ्य वातावरण नबनेको देखिन्छ। यस्तो अवस्थामा भविष्यमा अरू समस्या उब्जने प्रवल सम्भावना समेत नकार्न सकिदैन। तसर्थ एसिया कप छनोटपछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमती कायम गरी मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ,’ कार्यदलको सुझाव थियो।
कार्यदलले दिएको उक्त सुझाव कार्यान्वयन हुन्छ त? हामीले यो प्रश्न अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई सोधेका थियौं।
आगामी असार ६ गते हुने एन्फा कार्यसमितिको निर्वाचनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका शेर्पाले कार्यदलको सुझावलाई एन्फा केन्द्रीय कार्यसमितिको बैठकमा लगिनुपर्ने बताए।
‘यदि म दोस्रो पटक एन्फाको अध्यक्ष निर्वाचित भएँ भने कार्यदलको प्रतिवेदनलाई कार्यसमिति बैठकमा छलफलका लागि लैजान्छु। कार्यसमितिको बैठकले जे निर्णय गर्छ त्यसका आधारमा अघि बढ्छौं,’ शेर्पाले सेतोपाटीसँग भने।
निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पनि अध्यक्षका प्रत्यासी छन्। यदि नेम्बाङले निर्वाचन जितेमा उनले पनि कार्यदलको प्रतिवेदनलाई कार्यसमितिको बैठकमा लैजानेछन्।
प्रशिक्षक नियुक्त भएको तेस्रो महिनादेखि नै विवाद
गत साउनमा प्रशिक्षक अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङबीच पनि विवाद बढेको थियो।
गत साउन १० गते उनले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण नेपाली फुटबल तरंगित बनेको थियो। सो दिन एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई मुछ्दै उनले आफू राजीनामा दिन एन्फा कार्यालय गइरहेको लेखेका थिए।
सो स्टाटसपछि उनलाई राजीनामा नदिन भन्दै हजारौंले प्रतिक्रिया दिएका थिए। नेपाली फुटबलमा राजनीति बढी भएको र उनलाई काम गर्न नदिएको अधिकांशको भनाइ थियो। कतिपयले वरिष्ठ उपाध्यक्षलाई गम्भीर आरोपसमेत लगाएका थिए।
उनले सामाजिक सञ्जालमा लेखे पनि राजीनामा भने दिएनन्। बरू उनको फेसबुक स्टाटसका कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफ्नो फेसबुक खाता निष्क्रिय पार्न बाध्य भए।
गत असारमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको जन्मदिनमा अलमुताइरीले फेसबुकमार्फत् शुभकामना दिएका थिए।
सो पोस्टमा अलमुताइरीले शेर्पालाई ‘डियर ब्रदर’ भनेर सम्बोधन गरेका थिए। एन्फाका कतिपय पदाधिकारीले ‘डियर ब्रदर’ शब्द रूचाएनन्। सो पोस्टमा कतिपयले ‘एङ्ग्री रियाक्ट’ समेत गरेपछि अलमुताइरी रिसाएका थिए।
साउन पहिलो साता नेपाली टिम एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्यास गरिरहेको थियो। सो अभ्यासका दौरान अलमुताइरी कम्लेक्स बाहिर निस्किएर धुम्रपान गरे। त्यस विषयमा त्यहाँ उपस्थित मेरोखेलका पत्रकारले प्रश्न गरेपछि पत्रकार र अलमुताइरबीच विवाद भयो।
त्यसपछि सो कुरा सामाजिक सञ्जालमा फैलियो। जसमध्ये मेरोखेलका पत्रकारको एक पोस्टमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले लाइक गरे भने उपाध्यक्ष कृष्ण थापाले ‘वेल डन’ भनेर लेखे। एन्फाका पदाधिकारीले पत्रकारको पोस्टमा लाइक गरेपछि अलमुताइरी झन् रिसाए। जुन कुरा अलमुताइरीले एन्फामा दर्ता गराएको निवदेनमा पनि उल्लेख छ।
सामाजिक सञ्जालमा आफ्नो विषयको कुरामा लाइक गरेपछि अलमुताइरीले नेम्बाङको नामै तोकेर ‘राजीनामा दिन्छु’ भन्दै लेखिदिए। जसका कारण फुटबलमा ठूलो विवाद सिर्जना भयो। वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफ्नो करिअर सिध्याउने मनासायले स्टाटस लेखेको आरोप लगाए। कतिले एन्फा अध्यक्ष शेर्पालाई पनि मुछे।
फेसबुक पोस्टका कारण विवाद भएपछि एन्फाले छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयाई गुहार्यो। मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मा दियो।
त्यही बीचमा विवाद समाधानका लागि भन्दै नेम्वाङ र अलमुताइरीबीच भेट भयो। सो भेटमा अलमुताइरीले पत्रकारको पोस्टमा लाइक गरेकाले उक्त स्टाटस लेखेको बताएका थिए। त्यतिबेला विवाद समाधानका लागि दुबैले संयुक्त विज्ञप्ति निकाल्ने सहमति भएको थियो। तर अहिलेसम्म संयुक्त विज्ञप्ति निकालिएन।
साउन तेस्रो सातादेखि काम सुरू गरेको छानबिन समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष नेम्वाङ, प्रशिक्षक अलमुताइरीसहित १४ जनासँग बयान लिएको थियो।
समितिको प्रतिवेदनले एन्फा विवादको मुख्य कारण ‘सामाजिक सञ्जालको अध्याधिक प्रयोग’ भनेको छ। यस्तै आचार संहिता नहुँदा पनि समस्या आएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले घुमाउरो रूपमा अलमुताइरीको दोष देखाएको थियो।
प्रतिवेदनको सुझाव र सिफारिसको दोस्रो नम्बर बुँदामा भनिएको छ- ‘कुवेती नागरिक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ। उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्नुपर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एवं भूमिकाका बारेमा प्रश्न उठाउने देखिदैँन।'
प्रतिवेदनको तेस्रो बुँदामा अलमुताइरीले विवादास्पद राजीनामासम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषदबाट निर्देशन दिनुपर्ने सुझाव दिएको थियो।
प्रतिवदेनले विवादास्पद पोस्ट हटाउन सिफारिस गरेको केहीबेरमै अलमुताइरीले फेसबुकमा अर्को पोस्ट गर्न भ्याइहाले। उनले प्रतिवेदनमा आफू असन्तुष्ट रहेको संकेत गर्दै लेखे -आई एम आउट... लेट पोलिटिस्क वर्क।
उक्त स्टाटसपछि कतिपयले अलमुताइरीले राजीनामा दिने अड्कल काटेका थिए। तर मानिसहरूको अड्कल मिलेन। उनी साफ च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टिमसँगै पोखरा पुगे।
तीन वर्षको सम्झौता
२०७८ चैतमा एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका अलमुताइरीसँग एन्फाले गत कात्तिकमा थप तीन वर्षको सम्झौता गरेको थियो।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि अलमुताइरीले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेका थिए।
तर त्यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए।
फाइनलपछि भने उनले बोली फेरे। उनले दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए।
भारतसँग फाइनलमा नेपाल पराजित भएपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए।
अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न गत वर्ष पठाएको थियो।
नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने गरेको छ। एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।