इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ। लिग लिडर लिभरपुललाई एभर्टनले गोलरहित बराबरीमा रोकेको हो। बराबरीसँगै लिभरपुललाई उपाधि जित्न पाँच अंकको खाँचो भएको छ।
सोमबार अंक तालिकाको दोस्रो स्थानको म्यानचेस्टर सिटीले वर्नलीसँग खेल्दैछ। यो खेलमा सिटीले अंक गुमाए लिभरपुलले आगामी बुधबार उपाधि जित्न सक्नेछ। बुधबार लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्नेछ। यद्यपी सो खेलमा लिभरपुलले जित निकाल्नु पर्नेछ।
सिटीले जित हात पारेको अवस्थामा भने लिभरपुलले उपाधि जित्न अझ केहि दिन पर्खनु पर्नेछ। ३० खेल खेलेको लिभरपुलले ८३ अंक जोडेको छ भने दोस्रो स्थानको सिटीको एक खेल कम खेल्दा ६० अंक छ।
यता आइतबार भएको अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोलले पराजित गरेको छ। चेल्सीका लागि पुलिसिकले ६० र जिरुडले ६२ मिनेटमा गोल गरेका थिए।
त्यसअघि एस्टन भिल्लाका होसले ४३ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए।
लिगको चौथो स्थानको चेल्सीको ३० खेलबाट ५१ अंक छ भने भिल्ला २६ अंक जोडेर १९ औं स्थानमा छ। भिल्ला रेलिगेशन जोनबाट बच्न संघर्षरत छ।