झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’मा ८ टिम सहभागी हुने भएको छ।
आयोजक जायन स्पोर्टस् क्लबले सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमको टुंगो लागिसकेको जनाएको हो।
आयोजकका प्रवक्ता अविनाश राईले उद्घाटन खेल भारतको सिक्किम आक्रामक र संकटा क्लब काठमाडौंबीच हुने बताए।
झापा ११ ले दोस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ।
आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, थ्री स्टार क्लब छन् भने झापा ११ र गोर्खा ब्वाइज रुपन्देही पनि गोल्डकपमा सहभागी छन्।
त्यस्तै, सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब विदेशी टिमका रूपमा डोमालाल राजवंशी रंगशालामा आउने भएका छन्।
गोल्डकपको तयारी अन्तिम भएको जनाइएको छ।
गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउने छ भने उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ।
प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पाउनेछ। फाइनल खेलको म्यान अफ दि म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताए।
प्रतियोगितामा विधागततर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही १५/१५ हजार पाउने छन्।
म्यान अफ दि टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था गरिए पनि पुरस्कारबारे केही खुलाइएको छैन।