जमुना राईको एकमात्र निर्णायक गोलले झापाको शिवसताक्षीमा जारी १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगितामा सतासीधाम स्पोर्टिङ क्लब झिलझिले फाइनलमा प्रवेश गरेको छ।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा विर्तामोडको जायन महिला एफसीलाई १–० ले हराउँदै सतासीधाम स्पोटिङ क्लबले अन्तिम दुईको यात्रा सुरक्षित गरेको हो। सतासीधाम स्पोटिङ क्लबले अब उपमेयर कपको उपाधिका लागि मंगलबार हुने अर्को सेमिफाइनल खेलको विजेतासँग खेल्दैछ।
सोमबारको खेलमा पहिलो हाफको इन्जुरी समयमा मीना राईको पासलाई सदुपयोग गर्दे जमुनाले गोल गरेकी थिइन्। १–०ले पछि परेको जायन महिला एफसीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्ने अवसर गुमाएको थियो।
खेलको ५६ औं मिनेटमा सतासीधामकी खेलाडीले जायनकी खेलाडीलाई डिबक्सभित्र फाउल गरेपछी रेफ्री प्रताप खापुङ्गले पेनाल्टीको अवसर दिएका थिए। जायनकी निर्मला चौहानले प्रहार गरेको पेनाल्टी सतासीधाम स्पोटिङ्ग क्लबकी गोलरक्षक झरना राईले रोकिदिइन्।
खेलको वुमन अफ दि म्याच झरना राई भइन्। प्रतियोगितामा झापा, इलाम र मोरङ्गका १० महिला फुटबल टिम सहभागी छन्। विजेताले टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ।