डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
आर्मीले क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा झापासँगको भेट पक्का गरेको हो।
आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो।
भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो। खेलको २३ औं मिनेटको त्यही आत्मघाती गोलको मदतले आर्मी फाइनलमा प्रवेश गरेको हो।
खेल अवधिभर दाउफिन्सले एक दर्जन बढी पावरफूल प्रहार गरेको भए पनि गोल हुन नसक्दा उसको यात्रा सेमिफाइनलमै टुंगिएको छ।
पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाउफिन्सले दोस्रो हाफमा केही सशक्त प्रहार गरेको थियो। खेलको ४५ औं मिनेटमा दाउफिन्सका अहन्दा इशाको पावरफूल प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्याँलेका थिए।
५२ औं मिनेटमा टीना टीनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट बञ्चित भएको थियो। ५७ औं मिनेटमा दाउफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न सकेनन्। ६३ औं मिनेटमा पेटाङगाको पावरफूल प्रहार कुथुले बचाउ गरे।
आर्मीका टेकबहादुर बुढाथोकीले खेलको ३१ औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार बाहिरियो। जितसँगै झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले तेस्रो पटक फाइनल खेल्ने भएको छ।
आर्मीले पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो। आर्मीले फाइनल जितेका सबै खेल झापासँगको भेटमा हो। झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि रक्षा गर्न सकेको छैन । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका बिमल पाण्डे भए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए।